उपाहार न्यूज
उदयपुर चैत १९
लिम्चुङबुङ गाउँपालिकाले गाउँपालिकाको पाँच वटै वडामा पुगेर अपाङगता भएकाहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ । लिम्चुङबुङ गाउँपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा घुम्ती शिविर मार्फत गाउँ बस्तीमानै पुगेर अपांगता भएकाहरुलाई परिचपत्र वितरण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताउनु भयो ।
शुक्रबार गाउँपालिकाको वडा नम्बर १ बाँसबोटेबाट सुरु गरिएको परिचय पत्र वितरण कार्यक्रम शनिवार वडा नम्बर २ ताम्लीछामा गरिएको छ । पालिकाको वडा नम्बर १ मा ६ जनालाई परिचयपत्र वितरण गरिएको छ, शनिवार वडा नम्बर २ मा मा स्थानिय शंकर विकलाई घरमै पुगेर गाउँपालिका उपाध्यक्ष रमिला राई सहितको टोलीले परिचयपत्र वितरण गर्नु भएको थियो ।
सो क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राई, लेखा अधिकृत ताराकिरण राई, स्वास्थ्य शाखा प्रमुख नौलशेर राईल सहितको सहभागीता रहेको गाउँपालिकाको महिला तथा बालवालिका शाखाका प्रमुख शुसिला सुब्बाले जानकारी दिनु भयो ।
पालिकाले घुम्ती शिविर मार्फत आईतबार बलम्ता, सोमबार जाते र मंगलबार बराहमा पुगेर घुम्ती शिविर सम्पन्न गर्ने छ । लिम्चुङबुङ गाउँपालिकाले गत माघ २ गते पालिका स्तरीय शिविर समेत संचालन गरि सकेको छ ।