उपाहार न्यूज
उदयपुर चैत १९
स्थानिय तहको मिति नजिकिए संगै स्थानिय तहहरुमा प्रमुख राजनैतिक दलहरुबाट स्थानिय तहमा उठ्ने प्रमुख तथा उपप्रमुखहरुको चर्चा सुरु हुन थालेको छ । उदयपुरको आठ स्थानिय तह मध्य सबै ध्यान त्रियुगा नगरपालिकाले खिचेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा विच जिल्ला स्तरमा तालमेल गर्ने सहमती भएको छ ।
नेपाली कांग्रेस भित्र केन्द्रले स्थानिय आवश्यक्ताको आधारमा तालमेल गरेर निर्वाचनमा जाने सहमती भए पनि कांग्रेस भित्र एक थरी भने गठनबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसले घाटा बेहोर्नु पर्ने तर्क राख्नेहरु पनि छन् । यता कांग्रेस एक्लै निर्वाचनमा गएको अबस्थामा नेपाली कांग्रेसबाट नगर प्रमुख पदको लागि आकांक्षा राख्नेहरु आधा दर्जन बढि देखिएका छन् ।
नेपाली कांग्रेसको त्रियुगा नगरपालिकाको लागि नगर प्रमुखको चर्चामा यतिवेला कांग्रेस नेताहरु बसन्तकुमार बस्नेत, सरोजकुमार बस्नेत, प्रकास कुमार खड्का, देवीकुमारी चौधरी, विनोदकुमार बस्नेत, तिलक कटुवाल लगायत आधा दर्जन बढिले आकाक्षा राखेका छन् ।

बसन्तकुमार बस्नेत
बस्नेत २०७४ को स्थानिय तहको निर्वाचनमा हालका त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरी संग ७३ मतले पराजित भएका थिए । नेपाली कांग्रेस उदयपुरका पूर्व क्षेत्रीय सभापती समेत रहेका बस्नेत त्रियुगा नगरपालिका क्षेत्रमा लोकप्रिय मानिन्छन्, अघिल्लो पटक झिनो मतले पराजित भएका बस्नेतलाई यस पटक पनि मेयरको प्रमुख दाबेदारको रुपमा लिईएको छ । पार्टीको १३ औ महाधिवेशनमा क्षेत्रीय सभापती पदमा झिनो मतले पराजित भएका बस्नेतलाई नगर प्रमुखको टिकट दिनको लागि नेतृत्वलाई कार्यकर्ताको दबाब समेत छ ।

प्रकास कुमार खड्का
नेपाली कांग्रेसबाट नगर प्रमुखको प्रबल दाबेदारको रुपमा हेरिएको अर्को पात्र हो प्रकासकुमार खड्का नेपाली कांग्रेसको हाल त्रियुगा नगर समितिको सभापती रहेका खड्का त्रियुगा नगरपालिका वडा नम्बर १० का हालका वडा अध्यक्ष समेत हुन् । नगर कार्यपालिका भित्र प्रभावशाली वडा अध्यक्षको रुपमा लिईएका खड्का २०४९ साल भएको स्थानिय निकायको निर्वाचनमा तत्कालिन गाईघाट गाउँ विकास समिति वडा नम्बर १ बाट युवा उमेरमै वडा अध्यक्ष निर्वाचित भएका थिए । जनता संग चाडै घुलमेल हुने र अन्याय र अत्यचारको बिरुद्धमा सधै जनताको पक्षमा वकालत गर्ने खड्काको राम्रो पक्ष हो । पुराना जनप्रतिनिधि भएका कारणले पनि स्थानिय सरकार संचालनमा खड्का अनुभव प्राप्त व्यक्ति हुन् । खड्का २०७४ को स्थानिय तहको निर्वाचनमा पनि नगर प्रमुखको प्रबल दाबेदारको रुपमा रहेका थिए ।

सरोजकुमार बस्नेत
नेपाली कांग्रेसका प्रखर युवा नेताको रुपमा रहेका सरोजकुमार बस्नेत पनि यस पटक त्रियुगा नगरपालिका नगर प्रमुखको चर्चामा रहेका छन् । २०४४ सालमा नेपाल विद्यार्थी संघ त्रियुगा माविको सभापती भएका बस्नेत, २०४७ सालमा नेविसंघ उदयपुकार सह सचिव, २०५१ मा क्याम्पसको इकाई सभापती, २०५४ मा तरुण दल जिल्ला सदस्य २०५७ सालमा तरुण दल जिल्ला सचिव हुदै नेपाल तरुण दल उदयपुरका सभापती भैसकेका बस्नेत नेपाली कांग्रेस त्रियुगा नगर समितिको दुई कार्यकाल सभापती हाल उदयपुर प्रदेश सभा १ (ख) का सभापती हुन् । जनप्रतिनिधि विहिन अबस्थामा नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकामा प्रतिनिधित्व गर्दै सर्वदलिय संयन्त्रको नेतृत्व गरि सकेको बस्नेतले नगर क्षेत्रको ग्रामिण भेगहरमा विकासका योजनाहरु विस्तार गरेर जनताको मन जित्न सफल भएका थिए । बस्नेत २०७४ सालको निर्वाचनमानै नगर प्रमुखको प्रमुख दाबेदार थिए ।

विनोदकुमार बस्नेत
नेपाल विद्यार्थी संघको राजनितिबाट उदायका विनोदकुमार बस्नेत नेविसंघको २०४७ सालमा सचिव हुदै २०५३ मा केन्द्रिय सदस्य भएका व्यक्ति हुन् । तरुण दल उदयपुरका संस्थापक सभापती भएका उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापती हुदै पार्टीको जिल्ला कमिटिमा काम गरेको लामो अनुभव छ । बस्नेत कांग्रेसको महाधिवशेन प्रतिनिधि महासमिति सदस्य समेत भैसकेको कांग्रेसका अनुभवी नेता हुन् । उनी पार्टीको १३ औ महाधिवेशनमा उदयपुरबाट महाधिवेशन प्रतिनिधि हुदै प्रदेश नम्बर १ को पार्टीको सह महामन्त्री समेत हुन् । पार्टी राजनिति संगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल बस्नेत नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती तथा केन्द्रिय सदस्य हुन् । बस्नेतकै कार्यकालमा उदयपुरमा रक्तसंचार केन्द्र (ब्लड बैंक) को स्थापना भए संगै रगतको अभाव झेल्नु पर्ने समस्याबाट उदयपुरबास मुक्त भएका छन् ।

देबीकुमारी चौधरी
त्रियुगा नगरपालिकाको नगर प्रमुख पदको एक मात्र महिला पात्रको चर्चा यतिवेला देवीकुमारी चौधरीको छ । २०७४ सालको निर्वाचनमा नगर उपप्रमुखमा बिजयी भएका चौधरी पार्टीको मुख्य कुनै पनि जिम्मेबारीमा नरहेको व्यक्ति हुन् । उनी कांग्रेसको १३ औ महाधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापती पदमा पराजित भएकी थिईन् । कांग्रेस उदयपुरको राजनितिमा पछिल्लो समय मात्र सक्रिय रहदै आएकी चौधरी उपप्रमुख रहेकाले पनि स्वभाविक हिसाबले नगर प्रमुखको दाबेदारको रुपमा हेरिएको छ । कांग्रेसले त्रियुगा नगरपालिकामा महिलालाई मेयरको टिकट दिए चौधरी त्यसको प्रबल संभावना रहेको पात्र हो ।

तिलक कटुवाल
कांग्रेसबाट त्रियुगा नगर प्रमुखको अर्का आकांक्षी हुन् तिलक कटुवाल नेपाल शिक्षक संघका नेता कटुवाल नेपाली कांग्रेस भित्र प्रभाव राख्ने व्यक्ति हुन् । पेशागत राजनितिबाट खुल्ला राजनितिमा उत्रन लागेका कटुवाल नेपाल शिक्षक संघ उदयपुरको अध्यक्ष हुदै हाल केन्द्रिय उपाध्यक्ष हुन् । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मत सहित बिजयी भएका कटुवाल पार्टीको आन्तरिक राजनितिमा गतिलो प्रभाव राख्ने नेता हुन् । शिक्षण पेशाबाट सामाजिक कार्यमा समेत सक्रिय कटुवाल नगर प्रमुखमा चुनाव लड्ने आकाक्षा राख्दै आएका छन् ।