उपाहार न्यूज
उदयपुर पौष १३
त्रियुगा उद्योग वाणिज्य संघमा यतिवेला चलिरहेको आधिकारिक्ता विवाद अदालतले टुंगो लगाएको छ, उच्च अदालत विराटनगरले त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटसंग सम्बन्धीत मुद्दामा कार्यवाहक अध्यक्ष रमेश रसाईली पक्षमा फैसला दिएको छ । रसाईली संघको विधान अनुसार कार्यवाहक अध्यक्ष भएको र त्यसलाई प्रशासन कार्यालयले नै स्विकार गरिसकेको प्रमाणको आधारमा संघको विधान बमोजिम काम कारवाही अगाडी बढाउन मिल्नेगरी छिनोफानो दिएको हो ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय उदयपुरले संघको बैंक खाता रोक्का गर्नुका साथै संस्था खारेजसम्म हुनसक्ने भन्दै सुचना जारी गरेको थियो । उच्च अदालतका न्यायधीशद्वय कृष्णकमल अधिकारी र तेजनारायण सिंह राईको संयुक्त इजालसले रिट मुद्दाको सुनुवाई पछि फैसला गर्दै प्रशासनलाई बैंक खाता नरोक्न र सुचना कार्यन्वयन नगर्न आदेश भएको छ ।
संघको विधान बमोजिम कार्यवाहक अध्यक्षको नेतृत्वमा चल्दै गरेको संघलाई निस्कृय पार्नेगरी प्रशासनले कदम चालेपछि सोको विरुद्धमा संघको तर्फबाट रसाईली नेतृत्वको बहुमत पदाधिकारी पक्षले उच्च अदालतमा रिट हालेको थियो । सो रिटको सुनुवाईपछि आज फैसला भएको हो ।
कार्यावहाक अध्यक्ष रमेश रसाईली सहितको बहुमत समितिले संस्थाका अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका गजेन्द्रकुमार भगतलाई गत असार २८ को निर्णय अनुसार साधरण सदस्य समेत नरहने गरी कार्वाहि गरी संस्थाबाट कार्वाहि गरेको थियो । भगतले आफ्नो कार्वाहि उपर अदालतमा रिट निवेदन दिएका थिए उनको रिट निवेदनलाई कात्तिक ८ गतेको अदालतले खारेज गर्दै रमेश रसाईलीनै आधिकारिक कार्यवाहक अध्यक्ष भन्दै फैसला गरेको थियो ।
यता मंसीर १० गते जिल्ला प्रशासन कार्यालय उदयपुरको प्रमुख जिल्ला अधिकारी स्तरीय वैठकले संस्थानै खारेज गर्ने सम्मको ध्यानकर्षण सहित ३ दिन भित्र कार्यवाहक अध्यक्ष रमेश रसाईली समुहलाई तीन दिन भित्र लिखित जवाफ माग गरेको थियो । तर जिल्ला प्रशासनको उक्त कदमको बिरुटमा रसाईली पक्षले रिट निवेदन अदालतमा पेश गरे पछि अदालतले जिल्ला प्रशासनको निर्णय कार्यान्वन नगर्न र संस्थाको कामलाई अघि बढाउनका लागि आन्तरिक आदेश दिएको थियो ।
अदालतले संस्थाको काम अघि बढाउन अन्तरिम आदेश दिए पछि रसाईली पक्ष बहुमत समितिले पौष ३ गतेको लागि साधरण सभा तोकेको थियो । उद्योग वाणिज्य संघले तोेकेको साधरण सभामा आफुहरु सहित २६ सय व्यापारिको नविकरण नभएको भन्दै चुडामणी कार्की, सुनिल साह र विजेन्द्रलाल कर्णले मंसीर २९ गते साधरण सभा सहितको अधिवेशन रोक्नको लागि रिट निवेदन दिएका थिए । अदालतले पौष १ गते अधिवेशन रोक्नको लागि अल्पकानी आदेश दिदै पौष ५ गतेको लागि दुवै पक्षको अन्तरिक आदेशको छलफलको लागि बालाए पनि पौष ८ गते बहस भए पछि दुवै पक्षलाई मंगलबार (पौष १३ गते) अदालतको अन्तरिम आदेशको छलफलको लागि बोलाएको थियो ।
अदालतले बोलाएको अन्तरिक आदेशको कार्की पक्षको खारेज गर्दै रसाईली पक्षलाई संघको विधान अघि बढ्नको लागि आदेश दिएको छ ।
यस अघि संघको एक पक्षले रसाईलीलाई कार्यवाहक अध्यक्ष नै स्विकार नगर्ने गरी विभिन्न गतिविधि गर्ने, सधारण सदस्य समेतबाट कारवाहीमा परेका निवर्तमान अध्यक्ष गजेन्द्र भगतलाई अध्यक्षको हैसियतमा नाम राखेर पत्रपत्रिकामा भ्रमपूर्ण सुचना जारी गर्ने काम भइरहेको थियो । उच्च अदालतले संघको विधान बमोजिम कार्यवाहक अध्यक्ष बनेका रसाईली नेतृत्वले गरेको संघको काम तथा साधारण सभाको तयारी सहि प्रमाणीत गरिदिएको छ । यो फैसला पछि कार्यवाहक अध्यक्ष रसाईलीलाई संघको काम कारवाही अगाडी बढाउन र साधारण सभा गर्ने बाटो खुल्ला भएको छ ।यसैबीच जिल्ला प्रशासन कार्यालय उदयपुरसमेतलाई विपक्ष बनाई उच्च अदालतमा मुद्दा दिएका निवर्तमान महासचिव चुडामणी कार्कीको मुद्दा खारेज भएको छ ।
आफुहरुको हक हनन् भएको भन्दै दिएको निवेदनमा कुन हक हनन् भयो भन्ने नै नदेखिएको र त्रियुगा उद्योग वाणिज्य संघ संस्था ऐन २०३४ बमोजिम स्थापित संस्था, आफ्नै विधान बमोजिम चलेको पाइएपछि कार्कीको मुद्दा खारेज भएको हो ।
यी दुबै मुद्दाको फैसला न्यायधीशद्वय कृष्णकमल अधिकारी र तेजनारायण सिंह राईको संयुक्त इजालसबाट भएको हो । कार्यवाहक अध्यक्ष रसाईलीले संघको सर्बोत्तम हितमा रहेर सबै ब्यापारी, ब्यवसायीको हक, अधिकार स्थापित हुनेगरी साधारण सभा तथा सबैको सम्मानजनक सहभागिता हुने गरी काम गर्ने बताए ।