उपहारन्यूज संवाददाता –
उदयपुर । उदयपुरको संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ मा मुख्य कार्यालय रहेको सहकारीले शनिबार स्थानीय संगम सामुदायिक पुस्तकालयको सभाहलमा साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाको प्रगति प्रतिवेदन सहकारीका अध्यक्ष पुष्पराज सिग्देलले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रतिवेदन भने कोषाध्यक्ष दीपककुमार श्रेष्ठले सार्वजनिक गरेका थिए । सहकारीको आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम सचिव राजेन्द्रप्रसाद साहले प्रस्तुत गरेका थिए ।

त्यसैगरी संस्थाको आन्तरिक लेखा परीक्षणको प्रतिबेदन संयोजक भरत खड्काले प्रस्तुत गरेका थिए । साधारणसभाको क्रममा समितिले बिभिन्न अगाडि सारेको १० प्रस्तावहरुसमेत पारित गरेको थियो । स्वास्थ्य महामारीका कारण भएको लकडाउनको समयमा समेत संस्थाले लक्षको ९९ प्रतिशत प्रगति हासिल गरेको अध्यक्ष सिग्देलको भनाई छ ।
संस्थाको विगत आर्थिक वर्षसम्म सम्पत्ति, जायजेथा तथा दायित्वको चार करोड, ९३ लाख ९१ हजार तीन सय ५१ रुपैयाँ ९७ पैसा वासलात र आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १३ करोड ८५ लाख ७५ हजार को प्रस्तावित कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिएको उल्लेख छ ।
प्रकृति खड्काले सञ्चालन गरेको कार्यक्रममा सहकारीका अध्यक्ष पुष्पराज सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा त्रिनपा ११ का वडाध्यक्ष विश्वराज भट्टराई, त्रिनपा सहकारी शाखा प्रतिनिधि निर्मलादेवी दाहाल, राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारप्रसाद दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष चक्रमणी पोखरेल, बरिष्ठ अधिवक्ता मोहनबहादुर कार्की, संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्कालगायतको उपस्थिती रहेको थियो ।
