उपाहार न्यूज
उदयपुर कात्तिक १९
उदयपुरमा लक्ष्मीपूजा भइरहेकै रात आगलागी हुदा झण्डै डेढकरोड क्षति भएको छ । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नम्बर १२ डीएमगेट नजिकै रहेको ऊँ रौतारानी हाउस एण्ड सप्लायर्सले सञ्चालन गर्दै आएको मोटरसाईकल रिकन्डीशन हाउसमा विद्युत सर्ट भई आगो सल्कीदा क्षति भएको हो ।
राती १२ः४५ बजे भएको आगलागीका कारण विक्रीका लागि राखिएको ४५ वटा पुराना मोटरसाइकल पूणर् रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगोले त्यहाँ रहेको ल्यापटप तीन थान, प्रिन्टर, ग्यारेजका सामान तथा मोटरका पार्टसमेत जलेको उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
पसल (रिकण्डीशन हाउस)मा राति ८ बजे लक्ष्मी पूजा गरी सञ्चालन घर गएका थिए । सञ्चालक राजकुमार राउतका अनुसार राति १२ः४५ बजे आगलागी भएको भन्दै स्थानीयबाट जानकारी आएको थियो । त्यहाँ कोही नबस्ने भएकाले बेलैमा निकायलाई खबर गर्न नपाउदा सबै सामान बचाउन नसकिएको हो ।
भित्र कोठाबाट सल्कीएको आगो बाहिर आए पछी मात्र छिमेकीहरुले देखेर थाहा पाएका थिए । विद्युत सर्ट हुदा आगो सल्कीएको प्रहरीले जनाएको छ । घटनामा घरको विम, क्षत, वालमा क्षति पुगेको घरधनी किस्मत अलीले जानकारी दिए ।
भुई तल्लामा मोटर साइकलको रिकण्डिशन हाउस भए पनि पहिलो र दोस्रो तल्ला निर्माणको क्रममा रहेकोले कोहि पनि नबस्ने भएकाले जानकारी ढिलाई भएको उनले बताए ।