खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले थप हप्ता दिनका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ। गाउँपालिकाभित्र कोरोनाको संक्रमण दर बढिरहेकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको हो। शुक्रबार बसेको गाउँ कार्यपालिका र विपद व्यवस्थापन समितिको बैठकले ८ जेठदेखि १४ जेठसम्म अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिईन्।
बैठकले सरकारी, गैर सरकारी कार्यालय, विद्यालय, व्यापार/व्यवसाय, होटल बैंक तथा बित्तीय संस्था समन्वय गरी व्यवस्थापन गर्नेे तथा जमघट र भेला हुने सम्पूर्ण कार्यहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण यातायातका सवारी साधन आवगमनमा रोक लगाइएको छ। गाउँपालिकाको निर्णय विपरीत कार्य गरेमा संक्रमण रोग २०२० बमोजिम जो कोहीलाई कारबाही गरिने गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए।
यसअघि २५ बैशाखदेखि बैशाख मसान्तसम्म गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको थियो। आफु बचौ र अरुलाई पनि बचाऔं’भन्ने कुरालाई मध्यनजर राख्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा यो गाउँपालिका कठोर बन्दै आएको छ। हालसम्म यस गाउँपालिकामा कूल संक्रमित ४२ जना पुग्दा १ जनाले संक्रमणबाट ज्यान गुमाएको छ। अन्य होम आइसोलेसन रहेका छन्।