उपाहार न्यूज
उदयपुर बैशाख २४
कोरोना महामारीको जोखिम दिन प्रतिदिन बढिरहदा स्थानिय तहहरुले आफ्ना नागरिकहरुलाई जोखिमबाट बचाउनका लागि विभिन्न अभियान संचालन गरिरहेका छन् । यसै क्रममा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाउँपालिका केन्द्र बराहा स्थित महेन्द्र माविमा १० बेडको आईसुलेसन शुक्रबारबाट संचालनमा ल्याएको छ ।
जिल्लाकै विकट पाहाडि गाउँपालिकाको रुपमा रहेको लिम्चुङबुङले अघिल्लो बर्ष पनि गाउँपालिका केन्द्र लगायत विभिन्न स्थानमा क्वारेनटाइन स्थापना गरेर विदेश तथा विभिन्न स्थानबाट पालिका आउने नागरिकहरुलाई राख्ने व्यवस्था मिलाएको थियो ।
कोभिड १९ को जोखिम दिन प्रतिदिन बढ्दै गएकाले संक्रमण फैलन सक्ने पूर्व तयारी स्वरुप गाउँपालिका केन्द्रमानै नागरिकहरुको स्वास्थ्य उपचारमा ध्यानमा राख्दै आइसुलेशन स्थापना गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले जानकारी दिनु भयो । कोभिड १९ को जोखिम दिन दिनै बढ्दै जाँदा स्थानिय नागरिकहरुको स्वास्थ्य प्रति चिन्तित हुदै गाउँपालिका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष रमिला राई लगायतका जनप्रतिनिधिहरु उच्च सुरक्षा सतकर्ताका लागि स्वास्थ्य सुरक्षा अभियानमा लाग्नु भएको निमित्त प्रमुख राई बताउनु हुन्छ । गाउँपालिका क्षेत्रका नागरिकहरुलाई सुरक्षित बनाउनका लागि पालिका क्षेत्र प्रवेश गर्ने माझखर्क, वतासे र चनौटेमा हेल्प डेक्स स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
यता कोभिड १९ का लक्षण देखिए या संकास्पद व्यक्तिहरुको परिक्षणको लागि गाउँपालिकाका पाँच वटै वडाहरुमा एन्टीजेन किट सहितको व्यवस्था गर्ने तयारी गरिएको छ । २४ सै घण्टा एम्बुलेन्स सहितको आईसोलेसनको थप व्यवस्थापनको लागि लागि अक्सिजन कन्सनटेटर, अक्सिजन सिलिन्डर ५ थान, पल्स अक्सिमिटर १० थान, थर्मल गन २ थान, नेबुलाइजर २ थान लगायत औषधिहरु खरिद गर्ने प्रक्रिया बढेको निमित्त प्रमुख राईले जानकारी दिनु भयो ।