Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

वडाअध्यक्ष संग ६ प्रश्न ?

  • उपहार न्युज
  • सोमबार, चैत्र २ २०७७
वडाअध्यक्ष संग ६ प्रश्न ?

मुलुक संघिय संरचना गए संगै जनताले नजिकबाट अनुभुती गर्न पाउने गरी स्थानिय सरकार संचालनमा रहेको छ । यतिवेला स्थानिय तहहरुको बिषयमा विभिन्न कोणहरुबाट टिक्का टिप्पणी हुने गरेको छ । कतिपय अबस्थामा विकासका मागहरु असिमित हुदाँ जनप्रतिनिधिहरुले त्यसलाई व्यवस्थापन गर्न सकिरहेका हुदैनन् । सिमित स्रोतका विच विकासलाई समानुपातिक ढंगकले वितरण गर्न जनप्रतिनिधिहरुलाई चुनौती हुने गरेको छ । स्थानिय तहका वडा आफैमा एक स्थानिय सरकार हो नागरिकले नजकिबाट कसरी सेवा प्राप्त गर्ने गरेका छन्, स्थानिय वडाको विकासको अबस्था विगत र हालमा के फरक प्राप्त गर्न सकिन्छ । यस्तै बिषयमा केन्द्रित रहेर हामीले वडा अध्यक्ष संग ६ प्रश्नमा उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिपक दंगाल संग गरिएको ६ प्रश्नको सार यहाँ प्रस्तुत गरेका छौ ।

उपाहार ः यहाँको वडाको विकासको अबस्था कसरी अघि बढि रहेको छ ।
वडाअध्यक्ष दंगाल ः
विकास भन्नाले भौतिक पूर्वाधार, सामाजिक विकास सबै किसिमका विकासलाई हामीले सन्तुलित रुपमा लिने गरेका छौ । भौतिक विकास तर्फ सडक, खानेपानी, बिजुली, शैक्षिक क्षेत्रका कामहरु अघि बढि रहेका छन् । आर्थिक विकासमा कृषि तथा पशुपालनको उत्पादन तर्फ जोड दिएका छौ यता सामाजिक विकास तर्फ जनचेतनामुलक कामहरु, शिक्षा, स्वास्थ्य लगायतका कामहरुलाई सन्तुलित विकासको रुपमा अघि बढाएका छौ ।

उपाहार ः चालु आर्थिक बर्षमा यहाँको वडाले प्राथमिक्तामा राखेका योजनाहरु के के रहेका छन् ।
वडाअध्यक्ष दंगाल ः
भौतिक पूर्वाधार तर्फ हाम्रो वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन निर्माण पश्चात विद्यालय भवन र सिटिहल निर्माणका लागि जोड दिएका छौ हाम्रा गौरवका योजनाहरु पनि ती हुन् । आर्थिक विकास तर्फ बाली विमा देखि पशुपालनका कामहरुलाई हामीले राखेका छौ, सामाजिक तर्फ युवा, बालबालिका, दलित, जनजाती, सिमान्तकृत, अपांगता लगायतका क्षेत्रलाई समेत संबोधन हुने गरी विकासका योजनाहरुलाई प्राथमिक्तामा राखेर अघि बढेका छौ ।

उपाहार ः वडा संचालन गर्ने क्रममा चुनौतीहरु कस्ता देखिने गरेका छन् ।
वडाअध्यक्ष दंगाल ः
हामीलाई प्रशासनिक कार्यमा व्यक्तिगत घटना दर्तामा चुनौती छ, विगतमा जनप्रतिनिधि विहिन अबस्थामा रहेको स्थानिय निकायको समयमा व्यक्तिगत घटना दर्ताका दस्तावेजहरु छैनन् जस्ले गर्दा हामीलाई नागरिक्ता सिफारिस गर्नका लागि समस्या भोग्दै आउनु परेको छ । त्यस संग संगै विकासका कामहरुमा पनि हामी गाउँले परिवेशबाट सहरी परिवेशमा जादै गर्दा विकासका योजनाहरु अघि बढाउदा चुनौती हुने गरेका छन् । जस्तो बिजुली बत्ती चाहिएको छ आफ्नो जग्गामा पोल गाड्न नदिने, सडक विस्तार गर्नु छ जग्गा नदिने तर सडक पिच कहिले हुन्छ भनेर सोध्ने यस्ता प्रवृत्तिहरु हामी माझमा छन् । आर्थिक, सामाजिक, राजनैतिक हिसाबले पनि चुनौतीहरु छन् यसका बाबजुत पनि हामीले आफ्ना कामहरु गर्ने गरेका छौ ।

उपाहार ः यहाँहरु निर्वाचित भएर आईसके पछि वडाले प्राप्त गरेका उपलब्धीहरु के के हुन् ।
वडाअध्यक्ष दंगाल ः
विगतमा रामपुर ठोक्सीला गाविसको वडा नम्बर ७ रहेको यो वडा विगतमा विकासको दृष्टिकोणले धेरै नै पछि थियो । हामी संग हालको मदनभण्डारी सडक विगतमा कच्ची सडकको रुपमा थियो यो बाहेक यस वडामा गाईबस्तु हिड्ने बाहेक अन्य कुनै सडकहरु थिएनन् । ९० प्रतिशत घरधुरीले छुने गरी सडक विस्तार भएका छन्, विद्युत तर्फ ३४ वटा पोल विस्तार भए अब वडाका सबै स्थान अध्यारोमुक्त हुने छ । खानेपानीमा एक घर एक धारा निर्माण गरको छौ । शिक्षा तर्फ हाम्रै वडामा जिल्लाकै नमुना विद्यालय बनाउने अभियानमा लागि परेका छौ । हामीले कोभिड अस्पताल, वडामा प्राथमिक स्वास्थ्य चौकी निर्माण (रत्न बहादुर आले मगरको जग्गा दानबाट) वडा कार्यालय भवन (समाजसेवी डम्बर बहादुर तामाङबाट जग्गा प्राप्त भएर) निर्माण गरेका छौ । कृषिमा व्यवसायीकरण, पशुपालन हामीले वडामा परिवर्तन पाउन सकिन्छ ।


बेलका नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन स्थानिय समाजसेवी डम्बर बहादुर तामाङले निःशुल्क दान गर्नु भएको जग्गामा भवन निर्माण भएको हो

उपाहार ः स्थानिय नागरिकहरुबाट विकासका कस्ता मागहरु आउने गरेका छन्, नागरिकका मागहरुलाई कसरी संबोधन गर्ने गर्नु भएको छ ।
वडाअध्यक्ष दंगाल ः
जनताका विकासमा माग र आवश्यक्ता असिमित छन् हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । जनताको माग तत्कालै पुरा गर्नु पर्छ भन्ने किसिमको आउछ तर हामीले दुर्गामी विकास हुने किसिमका विकासका योजनाहरु निर्माण गरेका छौ । यस वडाको समस्याको रुपमा शिक्षा, स्वास्थ्य थियो त्यसलाई हामीले सुधार गरेका छौ । सडक कालोपत्रे माग भएका छन् यस वडाको अभिसापको रुपमा सिसवा खोला रहेको छ, सिसवा खोलाले हजरौ विघाह जग्गालाई बगरमा परिणत गरेको छ । सिसवा खोला नियन्त्रणको लागि डिपिआर समेत तयार गरेर सरोकारवाला निकाय सम्म पु¥याउने काम गरेका छौ । मागमा आधारित भन्दा पनि सामाजिक र समावेशी ढंगबाट आउने मागहरुलाई हामीले प्राथमिक्तामा राख्ने गरेका छौ ।

उपाहार ः वेलका ४ मा विगत हालको अबस्थालाई तुलाना गर्नु पर्दा कस्तो पाउन सकिन्छ ।
वडाअध्यक्ष दंगाल ः
हिजो लामो समय सम्म जनप्रतिनिधि विहिन अबस्था थियो अहिले जनप्रतिनिधि छ, हिजो गाविसको संरचना थियो अहिले नगरपालिकामा परिणत भएको छ । विगतमा गाविसको संरचना हुन यस वडामा सबै भन्दा बढि पछिल्लो पटक ३ लाख ६० हजार यस वडामा बजेट आएको थियो आज तीन करोड भन्दा बढि विभिन्न पाइप लाइनबाट बजेट आउने गरेको छ । यस अर्थमा विगतमा भन्दा केहि न केहि विकासका अनुभुती जनताले गर्न पाएका छन् भन्ने लागेको छ ।

Last updated:2021 Mar 15 Monday 16:34:01

प्रतिक्रिया
सम्बन्धित समाचार