विश्वराज तामाङ
उदयपुर फागुन १
संभावित विपदको घटनाको समयमा सरोकारवालाहरु विचको समन्वयमा कसरी खोजा तथा उद्धारको कार्य गर्ने भन्ने बिषयमा उदयपुरमा प्रयोगात्मक अभ्यास शनिवार सम्पन्न भएको छ । विपदका घटनाहरु बाढि, आगालागी, सर्पदंश र सडक दुर्घटना हुदाँ कसरी खोज तथा उद्धार गर्ने बिषयमा प्रयोगात्मक अभ्यास गरिएको हो । नेपाल रेडक्रस सोसाईटी उदयपुरको प्राविधिक सहयोग, त्रियुगा नगरपालिकाको समन्वय तथा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा शनिवार त्रियुगा नगरपालिका ६ देउरीमा आयोजित अभ्यास सम्पन्न भएको हो ।

अभ्यासको क्रममा त्रिनपा ६ स्थित स्थानिय पोखरीमा बाढिका कारण हुन सक्ने संभावित विपदको घटनाको बिषयमा खोज तथा उद्धारको कृतिम घटना अभ्यास गरिएको थियो । सो क्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, रेडक्रस स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो । कृतिम घटना अभ्यास कार्यक्रम तर्फ अस्थायी टहरा निर्माण गरेर आगालागी संबन्धि प्रयोगात्मक अभ्यास गरिएको थियो, आगालागीको समयमा हुने संभावित घटनालाई मध्यनजर गरेर बारुण यन्त्र, तथा सुरक्षा निकायको भुमिकाको बिषयमा अभ्यास गरिएको थियो ।

विपदको समयमा हुने संभावित घटना पश्चात नागरिकहरुलाई राहात व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा समेत अभ्यास गरिएको थियो । यता सर्पदंशबाट नागरिक बचाउनका लागि कसरी उद्धार गरिने भन्ने बिषयमा समेत नेपाली सेनाको रणसार्दुल गणले आफ्ना प्राविधिक सहित अभ्यासमा सहभागीता जनाएको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिद्धारा बार्षिक रुपमा तयार गरिने जिल्ला विपद व्यवस्थापन प्रतिकार्य योजनाको अन्तर्गत रहेर सरोकारवालाहरु बिचको समन्वयमा कृतिम अभ्यास गरिएको रेडक्रस उदयपुरका सभापती विनोद कुमार बस्नेतले बताउनु भयो ।
अभ्यासबाट स्थानिय तहले कस्तो किसिमको भुमिका निभाउने भन्ने बिषयमा अझ प्रष्ट भएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरीले बताउनु भयो । यस किसिमको कार्यक्रम आगामी दिनहरुमा समेत प्राथमिक्ताका साथ जारी राख्नु पर्ने त्रियुगा नगरपालिकाका नगर उपप्रमुख देवी कुमारी चौधरीले बताउनु भयो ।

कृतिम घटना अभ्यासका लागि विपद व्यवस्थापनको क्षेत्रमा काम गर्नका लागि विभिन्न १५ क्षेत्रका प्रतिनिधिहरुको सक्रिय सहभागीतामा अभ्यास सम्पन्न भएको रेडक्रस उदयपुरका मन्त्री सुभाष कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कृतिम अभ्यासबाट जिल्लाका विपदका संभावित क्षेत्रहरुमा विपदको पूर्व तयारी संगै सक्रिय भएर लाग्नका लागि अझ सहजता थपिएको विपद व्यवस्थापन समिति उदयपुरका अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोख्रेलले जानकारी दिनु भयो ।
कृतिम घटना अभ्यास कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न सामाजिक संघ संस्था, उद्योग वाणिज्य संघ, पत्रकार, स्थानिय नागरिकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।