उपाहार न्यूज
खोटाङ कात्तिक २६
कोरोना संक्रमण दर बढ्दै जाँदा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अस्थायी कोभिड अस्पताल संचालनमा आएको छ । कोरोना भाइरस संक्रमणको दर बढ्दै जाँदा खोटाङमा पनि संक्रमितहरु देखा पर्न थाले पछि गाउँपालिकाले अस्पताल संचालनमा ल्याएको हो ।
मंगलबार गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राईको उपस्तिथीमा अस्पतालको उद्घाटन गरिएको हो । अस्थायी कोभिड अस्पताल निर्माणको लागि संघिय सरकारले उपलब्ध गराएको १० लाख र गाउँपालिकाले अस्पताल व्यवस्थापनको लागि बिनियोजन गरेको ३५ लाख बजेटबाट कोभिड अस्पताल संचालनमा ल्याईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित याम्खा स्वास्थ्य भवनमा संचालनमा आएको कोभिड अस्पतालमा एक एमबिबिएस, दुई स्टाफ नर्स, १ ल्याब असिस्टेन्ट र कार्यलय सहयोगी सहितको जनशक्ति गाउँपालिकाको स्रोतबाट व्यवस्थापन गरिएको हो । गाउँपालिका भित्र कोरोना संक्रमित भेटिए अन्य स्थानमा पठाउनु पर्ने बाध्यता रहदै आएको र संक्रमितलाई अन्य स्थानमा पठाईदा झन संक्रमण बढ्न सक्ने खतरा भएकाले गाउँमानै अस्पताल स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष सपना राईले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत भिमप्रसाद दाहाल, राजनैतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियान्ताहरुको उपस्तिथी रहेको थियो ।