उपहारन्यूज- दाङ, असार १५ ।
अस्पतालमा आएकी महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा यहाँका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । सदरमुकाम घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा कार्यरत बबई गाउँपालिका वडा नम्बर ५ का स्थानीय २२ वर्षीय नवराज डाँगीलाई सो आरोपमा पक्राउ गरिएको हो ।
एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर आईतबार एक्सरे गरेको आरोप छ । घोराही उपमहानगरपालिका १८ का स्थायी बासिन्दा ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गर्नु परेको हो’ जिप्रका दाङका प्रबक्ता डिएसपी सुमित खड्काले भने ‘घटनामा संलग्न आरोपितमाथि अनुसन्धान जारी छ ।’
एक्सरे गर्ने स्वास्थ्यकर्मी अनुमतिप्राीत छैनन् ।
पीडितका श्रीमान्को उजुरीपछि भर्खरै प्रहरी पक्राउ गरेको गोरखा हस्पिटलका स्वास्थ्यकर्मी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुलेको छ । पक्राउ परेका उनी एक्सरे गर्ने अनुमति नै नपाएको तथ्य बाहीरिएको हो । नेपाल रेडियो ग्राफिक्स सोसाइटी जिल्ला कार्यसमिति दाङका सदस्य आयूस पौडेलले पक्राउ परेका डाँगी रेडियोग्राफर नभएको बताए ।