देबराज राई-
उदयपुर, चैत ५ । उदयपुरमा हुने जथाभावी सवारी पार्किङ रोक्न मंगलबारदेखि ‘ह्वील लक’ कारवाही शुरु भएको छ । सडक तथा पेटीमा आफूखुसी सवारी पार्किङ गर्दा पैदल यात्रु तथा अन्य सवारीसाधनलाई बाधा पुग्ने र दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले यस्तो अभियान थालेको हो ।
जिल्लामै पहिलो पटक शुरु भएको ‘ह्वील लक’ कारवाहीबाट पहिलो दिन बिभिन्न ७७ वटा सवारीसाधन कारवाहीमा परेको उदयपुरमा ट्राफिक प्रहरी इन्चार्ज होमप्रसाद खनालले जानकारी दिए । जसबाट ५९ हजार पाँच सय राजस्व संकलन भएको छ । इन्चार्ज खनालका अनुसार ४७ वटा चारपाङ्ग्रे सवारीसाधन, २१ वटा मोटरसाईकल र ९ वटा टेम्पो कारवाहीमा परेका छन् ।
‘सर्वसाधरणलाई सचेत बनाउन ह्वील लक सेवा शुरु गरेका छौँ’ उदयपुर ट्राफिक इन्चार्ज खनालले भने, ‘सेवा प्रभावकारितालाई हेरेर आगामी दिनमा कारवाहीका लागि कार्यनीति तयार हुनेछ ।’ खनालले ह्वील लक कारवाहीबाट सर्वसाधरण नागरिक सचेत हुनेमा आफू विश्वस्त रहेको बताए ।
जिल्लामा ‘सवारी साधनको पाङ्ग्रामा साँचो’ लगाउने अभियान शुरुवातमा सदरमुकाम गाईघाटलाई ‘फोकस’ गरी सञ्चालन गरीने कार्यालयले जनाएको छ । उदयपुरमा गाईघाटसँगै पश्चिम कटारी र बेल्टारलगायतका व्यापारिक सहरमा पनि कारवाही आवश्यक रहेको भएपनि ‘ह्वील लक’ गर्ने यन्त्र अभावका कारण एकैपटक जिल्लाभर सञ्चालन हुन नसकेको हो । हाल उदयपुरमा दुई वटा मात्र ‘ह्वील लक’ मेसिन उपलब्ध रहेको छ ।
यसअघि सदरमुकाम गाईघाट बजारमा हुने अनावश्यक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले चार पाङ्ग्रे सवारीसाधनलाई सचेत तथा दुई पाङ्ग्रे (मोटरसाईकल)को हेल्मेट नियन्त्रणमा लिने गरेको थियो । यस्तो अवस्थामा घटनास्थलबाट प्रहरी गएपछि कतिपय हेल्मेट बिनै सवारी चालक भाग्ने गरेका थिए ।
राजधानीमा भने गत मङ्सिर ८ गतेदेखि सुरू गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारबाही गरिँदै आएको हो । त्यस्तै पूर्वको बिभिन्न व्यस्त सडकहरुमा पनि ह्वील लक कारवाही गर्दै सञ्चालन हुदै आएको छ । उदयपुरमा गरिएको परीक्षण कारवाहीले सकारात्मक संकेत देखिएको इन्चार्ज खनालको भनाई छ ।

गाईघाट बजारमा जथाभाबी पार्किङ गरी राखिएका सवारीसाधनमा ह्वील लक लगाउदै ट्राफिक प्रहरी । Photo/Upaharnews.com