उपहार न्यूज
झापा मंसीर २०
नेपाल निजामती कर्मचारी युनियनको प्रदेश स्तरीय प्रशिक्षण आगामी मंसीर ३० गते झापाको धार्मिक पर्यटकीय क्षेत्र दोमुखामा हुने भएको छ ।
नेपाल निजामती कर्मचारी युनियन,कोशी प्रदेशको आयोजना तथा झापा जिल्ला शाखाको सहआयोजनामा झापाको प्रसिद्ध तीर्थस्थल दोमुखामा कर्मचारीहरुका लागि प्रशिक्षण कार्यक्रम हुने भएको प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष मान बहादुर वनले जानकारी दिनु भयो । सुशासन, मितव्ययीता, पारदर्शिता,जवाफदेहीता जस्ता असल शासनका लागी आवश्यक औजारहरुलाई समेटेर कर्मचारीहरुले पृथकरुपमा जनताको सेवकका रुपमा सेवा गर्नुपर्ने कर्मचारी युनियनको ठम्याई रहेको अध्यक्ष वनले जानकारी दिनु भयो । उक्त प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशमा कार्यरत युनियनमा आवद्ध स्थानीय तह, प्रदेश र संघमा कार्यरत सवै किसिमका कर्मचारीहरुको सहभागिता रहने युनियनका कोशी प्रदेशका वनले जानकारी दिनु भयो । कार्यक्रमलाई प्रभावकारी वनाउन ७ वटै प्रदेश, ७७ वटै जिल्लाका निजामती कर्मचारीहरुको उपस्थिती रहने झापा अध्यक्ष कविन्द्र विक्रम नेम्वांगले वताउनु भयो । कार्यक्रमलाई कोशी महाकुम्भको रुपमा परिणत गर्ने कसरत समेत भैरहेको मोरंग अध्यक्ष पर्शुराम मण्डलले वताउनु भयो, कार्यक्रममा युनियनका सवै अग्रजहरुको समेत उपस्थिती रहने भएकोले कार्यक्रम भव्य हुने सुनसरी युनियनका अध्यक्ष निखिल पोखरेलको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस कोशीका सवै माननीयहरुलाई समेत आमन्त्रण गरिएकोले छ । कार्यक्रमलाई प्रभावकारी वनाउनको लागि वृहत छलफल भैरहेको केन्द्रिय सदस्य लक्ष्मी प्रसाद दाहालले जानकारी दिनुभयो। उक्त कार्यक्रममा युनियनका केन्द्रिय अध्यक्ष गोपाल पोखरेल एवं केन्द्रिय पदाधिकारी तथा सदस्यहरु सवैको सहभागिता रहने समेत जानकारी दिइएको छ । उक्त दिन विहान ७.३० बजेबाट प्रशिक्षण शुरु हुने समेत दाहालले जानकारी दिनु भयो ।