मुसिकोट, कात्तिक १ ।
होटलको कोठाभित्र एक पुरुषसँग पुगेकी युवति मृत भेटिएकी छन् । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर– १ खलंगास्थित सत्कार होटलमा ग्राहकको रुपमा रहेकी महिलाको लाश भेटिएको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ति युवक मृतक युवतिसँगै होटलको कोठासम्म पुगेका थिए । तर, ति व्यक्तिबारे भने प्रहरीले बिस्तृत सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार शंकास्पद व्यक्ति पक्राउ परेको पुष्टि गर्दै थप सत्यतथ्य बुझेर मात्र सार्वजनिक गर्ने प्रहरीको योजना छ । मुसिकोट नगरपालिकाका ७ साँखकी २८ वर्षीया भावना विक खलंगाको सत्कार होटेल कोठा नम्बर १ मा एकाबिहानै मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्न घाटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ । एसपी भट्टराईका अनुसार मृतक महिला भावनाको घाँटीमा डाम देखिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुईबीच लेनदेनकै विषयमा झगडा सुरु भएको बुझिएको छ ।