उदयपुर, असोज २४ ।
उदयपुर प्रहरीले केही समययता सञ्चालन गर्दै आएको लागुऔषधबिरुद्ध अयिभानले तीब्रता पाएको छ । जिल्लामा लागुऔषध कारोवार र प्रयोगकर्ताको गतिबिधि निस्तेज पार्न मिसन ड्रग इन्टरसेप्ट (एमडीआई) सञ्चालन गरेको प्रहरीले मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको हो ।
करिब साढे ५ः०० बजे सिराहको कदमाह हुँदै उदयपुर आउदै गरेका ३५ वर्षीय विकास भनिने चन्द्रशेखर राई र ३० वर्षीय विगेश राईको साथबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । विशेष सूत्रबाट प्राप्त जानकारीका आधारमा शंकास्पद देखिएपछि त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीको टोलीले चेकजाँच गर्दा जम्मा ७५ एम्पुल लागुऔषध फेला परेको थियो ।
घटनामा प्रयोग गरिएको स.६.प ८५४२ नम्बरको स्कुटर चालक चन्द्रशेखर त्रिनपा १० बोक्सेका स्थानीय हुन् । त्यस्तै सोही स्कुटरको पछाडी सवार (लागुऔषध बोक्ने) बिगेशको घर भने त्रिनपा ११ शिवालयटोल हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार स्कुटर सवार उनीहरुको साथबाट फेनार्गन २५ एम्पुल, ब्रुपिनोर्फिन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल बरामद भएको थियो । दुवैलाई लालपत्ताबाट जिप्रकाको हिरासतमा राखिएको छ । बुधबार उनीहरुबिरुद्ध कानुनी कारवाहीका लागि अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद समेत थप भइसकेको छ । पक्राउ परेको सो लागुऔषध निकै ठूलो परिमाणमा देखिएकाले कारोबारकै लागि ल्याइदै गरेको हुनसक्ने अनुमान छ ।