उपहार न्यूज
उदयपुर भाद्र १८
नेपाल नेत्रज्योती संघ उदयपुरबाट संचालित मदन भण्डारी आँखा अस्पताल परिसरमा स्मृति वृक्षारोपण अभियानको चौथो बर्ष पुरा भएको छ । मदन भण्डारी आँखा अस्पतालको खाली जग्गाको परिसरमा चार बर्ष अघि बाट सुरु गरिएको अभियान यस बर्ष चौथौ बर्ष पुरा गरेको हो ।
आँखा अस्पतालको खाली क्षेत्रलाई सदुपयोग गर्ने उद्देश्य स्वरुप सुरु गरिएको स्मृति वृक्षारोपण अन्तर्गत हाल सम्म एक सय ६५ जनाले आफ्ना दिवंगत आफन्त तथा प्रियजनको नाममा वृक्षारोपण गरिएको नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतले बताउनु भयो । उदयपुर लगायत आसपासको जिल्लाका नागरिकहरुको आखाँको उपचारको सहजताको लागि स्थापना गरिएको मदन भण्डारी आँखा अस्पतालमा वृक्षारोपण गरिए पछि हरियाली थपिएको स्थानियको बुझाई रहेको छ ।
अस्पताल परिसरमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायत विशिष्ट व्यक्ति देखि सामान्य सर्वसाधरणले समेत वृक्षारोपण गरेका छन् । दिवंगतका परिवारले आफ्ना आफन्तको स्मृतिको रुपमा वृक्षारोपण संगै अस्पताल संगको भावनात्मक संबन्धको समेत विकास हुने भएकाले यो अभियान सुरु गरिएको अध्यक्ष राउतले बताउनु भयो ।
मदन भण्डारी आँखा अस्पतालमा हाल सम्म करिब ६ सयको हारहारीमा विभिन्न सहयोगी निकायहरुको सहयोगमा निःशुल्क आँखाको शल्यक्रिया गरिएको राउतले बताउनु भयो ।
हरेक बर्ष भाद्र १८ गते लाई स्मृति वृक्षारोपण दिवशको रुपमा मनाउने र सो दिन वृक्षारोपण गर्ने एक जनाले आँखाको शल्यक्रियाको लागि सहयोग पु¥याउने अभियानको रुपमा जोड्ने लक्ष्य राखिएको अध्यक्ष राउतले बताउनु भयो ।