उपहार न्युज । वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले अबदेखि स्थानीय तहबाटै आर्थिक सहायता पाउने भएका छन्। सरकारले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरी वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले नियमावली संशोधन पछि वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले मात्र नभई अंगभंग भएकाले पनि स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरिएको बताउनु भएको छ। यसअघि वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्त र अंगभंग भएका घाइतेहरू आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालय धाउनुपर्ने बाध्यता रहेको थियो। सचिवायलको कार्यालय काठमाडौं बाहेक देशका अन्य कुनै पनि स्थानमा नरहेकोले देशको जुनसुकै स्थानमा बसोबास गर्दै आइरहेका पीडित आर्थिक सहायता लिनका लागि काठमाडौं आउनै पर्ने बाध्यता रहेको थियो । सहसचिव ढुंगानाले नियमावली संशोधनपछि पीडितले आफू बसिरहेको स्थानीय तहमा आर्थिक सहायता पाउन निवेदन दिन सक्ने जानकारी दिनुभएको छ ।