उपहार न्युज । उदयपुरमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ। हिजो खोलाले बगाएर कटारी नगरपालिका ५ भोर्लेका एक बालकको मृत्यु भएको हो । कटारी ५ भोर्लेमा पौडी खेल्ने क्रममा खोलाले बगाएर ६ वर्षीय सिद्धान्त श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। इप्रका प्रमुख डिएसपी प्रेमसागर केसीका अनुसार ५ वर्षीय भाईसँग पाडी खेल्न गएका सिद्धान्तको खोलाले बगाएर मृत्यु भएको हो ।
मृतकका बाबु विदेश रहेको र आमा काममा गएका बेला पौडी खेल्न गएका दाजुभाइ मध्ये दाजु घट्नामा परेका हुन् । दाजुलाई खोलाले बगाए पछि किनारै किनार रुदै पछ्याउँदै गरेको स्थानीयले देखेर जम्मा भई बालकको उद्धार गरेका थिए। खोलाले बगाएर एकसय मिटर तल पुर्याई बेहोस भएका बालकको उद्धार गरी उपचारार्थ कटारी अस्पताल ल्याइएकोमा डा. ले तत्काल मृत घोषित गरेको प्रहरीले जनाएको छ। उता मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिकामा हिजो अपराह्न भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। इलाम नगरपालिका–९, गोलाखर्कमा मे १ त २२४५ नम्बरको ट्याक्टर पल्टिँदा चालक अन्दाजी १७ वर्षे कृष्णबहादुर लम्जेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माइखोलाबाट बालुवा लिएर इलाम बजार तिर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा त्यहीँ वडाका लम्जेलको घटनास्थलमै मृत्यु भएको हो।