उपाहार न्यूज
उदयपुर भाद्र ७
पत्रकार रबी लामिछानेको रिहाईको माग राख्दै स्वतन्त्र नागरिक समाज उदयपुरले गाईघाटमा शान्तपूपर्ण दबाबमुलक कार्यक्रम सम्पन्न गरेको छ । न्यूज २४ टेलिभिजनको सिधा कुरा जनता संगका प्रस्तोता रबी लामिछाने, युवराज कडेल र अस्मीता कार्कीको रिहाईको माग राख्दै स्वर्गीय पत्रकार सालिकराम पुडासैनीको आत्महत्याको सत्य तथ्य छानविनको माग राख्दै गाईघाट प्रदर्शन गरिएको हो ।
पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकारहरुलाई निर्दोष भएको नागरिक जनस्तरबाट आवाज उठ्न थाले पछि उदयपुरमा पनि प्रदर्शन गरिएको हो । उदयपुरको कटारीमा दुई दिन अघि स्थानिय नागरिकहरुले प्रदर्शन गरेका थिए ।
शनिवार गाईघाट स्थित पिपल चोकबाट सुरु भएको कार्यक्रममा स्थानिय पाँच सय बढि नागरिकहरुले सहभागीता जनाएका थिए । उनीहरुले सालिकराम पुडासैनी आत्महत्याको सत्य तथ्य छानविनको माग गरेका छन्, रबी लामिछानेलाई फसाउने खोजीएको भन्दै प्रदर्शनकारीले विनाशर्त रिहाईको माग राखेका छन् । अनुसन्धानको नाममा राष्ट्रभक्त पत्रकार माथि भएको ज्याददती कुनै पनि हालतमा सह्र्य नहुने नागरिकहरुले बताएका छन् । देशमा चरम भ्रष्टचार, लुटतन्त्र, देशको सिमा मिचिदा समेत चुप लागेर बसेको सरकार एक राष्ट्रप्रेमी पत्रकारलाई झुठा मुद्धामा फसाउने खोजेको प्रति सरकारको तिब्र आलोचना गरिएको थियो । रबी लामिछानेलाई रिहा नगरिए चरणबद्ध प्रदर्शन गर्ने स्वतन्त्र नागरिक समाजका अगुवा सबु थापाले बताईन् । कार्यक्रममा स्थानिय नागरिकहरु ध्रुब पोख्रेल, जीवन श्रेष्ठ, ससी लामा, केशव पाण्डे, विमला सुनुवार, रत्ना तामाङ लगायतले आफ्नो भनाई राखेका थिए ।