विश्वराज तामाङ
उदयपुर जेठ २६
देशभरका स्थानिय तहहरुमा जनप्रतिनिधिले कार्यभार सम्हाल्दै गर्दा स्थानिय तहका जनप्रतिनिधिहरुले विभिन्न प्रतिबद्धता व्यक्त गर्ने लहरनै चलेको छ । तर प्रतिबद्धता व्यक्त गर्नु मात्रै मुख्य बिषय रहेन त्यसलाई सहि कार्यान्वन गर्नुले खास प्रतिबद्धताले अर्थ राख्ने गर्दछ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भए संगै कार्याभार सम्हालदै गर्दा राखिएका प्रतिबद्धताहरुको कार्यान्वयन सुरु भएको छ । गाउँपालिकामा दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका मेजर कुमार राई र पहिलो पटक उपाध्यक्ष निर्वाचित पुष्पलाल राईले गाउँपालिकामा कार्यभार सम्हाले संगै विभिन्न प्रतिबद्धताहरु व्यक्त गरे । अध्यक्षमा निर्वाचित हुनु भएका मेजरकुमार राईले गाउँपालिकाको शैक्षिक सुधार गर्ने आफ्नो प्राथमिक्ताको बिषय र प्रतिबद्धता रहेको बताउनु भएको थियो । अध्यक्ष राईले कार्यभार सम्हाल्दै गर्दा शैक्षिक गुणस्तरको बृद्धि गर्नका लागि शैक्षिक सुधार योजना ल्याउने प्रतिबद्धता संगै त्यसको कार्यान्वयनको लागि गाउँपालिकाले प्रयास अघि सारेको छ ।
गाँपालिकामा शैक्षिक सुधारका लागि छलाङ परियोजना शुरु गर्ने भएको छ, त्यसको लागि शैक्षिक क्षेत्र गुणस्तरको लागि काम गर्दै आएको संस्था कोलाब्रेटिब स्कुल नेटवर्क (सिएसएन) संग गाउँपालिकाले सम्झौता गरेको छ । दुई बर्षको लागि गरिएको सम्झौता अनुसार संस्थाले अब गाउँपालिकाको पाँच विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि काम गर्ने छ ।

पालिकाले पहिलो पटक परिक्षण स्वरुप पाँच विद्यालयमा गाउँपालिकाको आर्थिक तथा सिएसएन संस्थाको प्राविधिक सहयोगमा काम गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनु भयो । गाउँपालिकाको पाँच माध्यमिक स्तरको विद्यालयहरु वडा नम्बर १ को माबि बुत्कु, वडा नम्बर २ को महेन्द्रदिप मावि ताम्लीछा, वडा नम्बर ३ को महेन्द्र मावि बाराहा, वडा नम्बर ४ को क्यापटेन पर्शुराम पदमाराई विद्यालय बलम्ता र वडा नम्बर ५ को श्री जनता मावि जातेमा परियोजना संचालन गर्न लागेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद राईले जानकारी दिनु भयो ।
गाउँपालिकामा संचालन हुन लागेको छलाङ परियोजना अन्तर्गत संचालित विद्यालयहरुमा पूर्व प्राथमिक र कक्षा १ मा शैक्षिक सुधारको लागि संस्थाले काम गर्ने सिएसएन संस्थाका सह निर्देशक सगेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार विद्यालयमा जग देखि शैक्षिक सुधार गर्नु पर्ने भएकाले सिकाई उपलब्धी बढाउनका लागि शिक्षण शैलीमा परिवर्तन, पाठ्क्रममा भएका पाठ योजनाहरुलाई प्रभावकारी बनाउने विधिको बिषयमा काम गर्ने छ । शिक्षण सुधारको लागि संस्थाले विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरेर सोहि अनुरुप कक्षा संचालन गर्ने छ जस्ले गर्दा विद्यार्थीको सिकाईमा विगतमा भन्दा शिक्षक र विद्यार्थीमा परिर्वतन आउने श्रेष्ठले जानकारी दिनु भयो । दुई बर्षका लागि गरिएको सम्झौता बमोजिम संस्थाले आगामी बर्ष कक्षा ३ सम्म यस किसिमको कार्यक्रमलाई अघि सार्ने लक्ष्य राखेको छ । सिएसएनले काठमाण्डौका चार नगरपालिका, सोलुखुम्बु र दार्चलामा समेत यस किसिमको कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गरिरहेको संस्थाले जनाएको छ ।