उपाहार न्यूज
उदयपुर जेठ १६
त्रियुगा नगरपालिकाका नगर उपप्रमुखको पदबहाली गर्नु भएका नगर उपप्रमुख महेश्वरी राईले पहिलो निर्णय अशक्त अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र दिने गर्नु भएको छ । नगर प्रमुख बसन्तकुमार बस्नेतबाट पद तथा गोपनियताको सपथग्रहण पछि पदबहाली गर्नु भएकी नगर उपप्रमुख राईले अति असक्त र अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गर्ने निर्णय गर्नु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिनु भयो ।

नगर उपप्रमुखको रुपमा पदभारग्रहण गर्दै राईले आफु नगरबासीको सेवक भएकाले जनताको घरदैलोमानै पुगेर आफुले सेवा दिने बताउनु भयो । उहाँले आफ्नो कार्यकाल सफल बनाउनका लागि सम्पूर्ण क्षेत्रले सहयोग गर्नु पर्ने बताउनु भयो । नगर उपप्रमुख निर्वाचित भए पछि बुधबार जिल्ला न्यायधिश उत्तम शिलवाल मार्फत प्रमाणपत्र ग्रहण गर्दै उपप्रमुख राईले अबका दिनमा कुरा भन्दा पनि काम गरेर देखाउने बताउनु भयो । उहाँले हिजो विभिन्न दलहरुबाट आफुहरु निर्वाचनमा होमिए पनि अब जनताबाट निर्वाचित भए पछि साझा जनप्रतिनिधि भएकाले अब यो दल र त्यो दल भन्दा पनि साझा विचार र धारणाका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।