उपाहार न्यूज
उदयपुर बैशाख १२
आसन्न स्थानिय तहको निर्वाचनका लागि उदयपुरको त्रियुगा नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । प्रमुख दल नेपाली कांग्रेस, एमाले र गठबन्धन दल विच त्रिपक्षीय भिडन्त हुने देखिएको हो । नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकाको नगर प्रमुखको लागि बसन्तकुमार बस्नेत उप प्रमुखको लागि सरिता राईले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेबाट भागवत राउत प्रमुख र महेश्वरी राईले उप प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । माओवादी र एकिकृत समाजवादीको गठबन्धनबाट बलदेव चौधरीले नगर प्रमुख र गिता खड्काले उप प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्रियुगा नगरपालिकामा अन्य दल तथा स्वतन्त्रबाट पनि प्रमुख उपप्रमुख तथा वडा अध्यक्ष वडा सदस्यको लागि उम्मेदवारी दर्ता भएका छन् । तर प्रमुख र उप प्रमुख पदमा भने नेपाली कांग्रेस, एमाले र माओवादी र नेकपा एस गठबन्धन विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेसबाट उम्मेदवार भएका बस्नतकुमार बस्नेत २०७४ सालको निर्वाचनमा ७३ मतले एमालेका तत्कालिन उम्मेदवार बलदेव चौधरी संग पराजित भएका थिए । बस्नेत नेपाली कांग्रेस उदयपुरको तीन कार्यकाल सम्म क्षेत्रीय सभापती भएका व्यक्ति हुन् ।
एमाले उम्मेदवार भागवत राउत पुराना जनप्रतिनिधि हुन् उनी तत्कालिन त्रियुगा नगरपालिका वडा नम्बर १ मा २०५४ सालको स्थानिय निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् । राउत नेकपा एमालेका प्रदेश सदस्य हुन् । माओवादी र एकिकृत समाजवादीबाट उम्मेदवार भएका वलदेव चौधरी त्रियुगा नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । उनी २०६४ सालको संबिधान सभा निर्वाचनमा एमालेबाट उम्मेदवार भएर पराजित भएका थिए । २०७४ मा एमालेबाट त्रियुगा नगरपालिकाको नगर प्रमुख पदको उम्मेदवार भएर निर्वाचित भएका चौधरी एमाले विभाजन संगै नेकपा एसको मा लागेका हुन् । चौधरी नेकपा एसका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर १ का अध्यक्ष समेत हुन् ।
उप प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार दिएकी सरीता राई कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् उनी नेपाल महिला संघ, नेपाल सास्कृतिक संघमा आबद्ध हुदै पार्टीमा लोकप्रिय छवि बनाएकी महिला नेतृ हुन् । एमालेबाट उपप्रमुख उम्मेदवार महेश्वरी राई महिला अधिकारकर्मीले परिचिति नाम हो । उनी एमालेको अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष हुन् । गठबन्धनबाट उम्मेदवार गीता खड्का २०७४ सालको निर्वाचनमा उप प्रमुखकी उम्मेदवार थिईन् । खड्का नेकपा माओवादी केन्द्रको त्रियुगा नगरपालिका कमिटिको अध्यक्ष समेत हुन् ।