उपहारन्यूज-
उदयपुर, अजोस ८ ।
दम्पती एक जोडीसहित बुधबार उदयपुरबाट आठ जना पक्राउ परेका छन् । बिभिन्न नाकाबाट अबैध लागूऔषध जिल्ला भित्र्याएर कारोबार गर्ने गरेको भन्दै लागूऔषध कारोबारी गिरोहलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको हो ।
अबैध लागूऔषध नियन्त्रण गर्ने अभियानमा जुटेको उदयपुर प्रहरीले त्रियुगा नगरपालिका २ जोगिदहबाट ६ जना र सोही नपा ६ लालपत्ताबाट २ जनासहित ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २८५ एम्पुल लागूऔषध बरामद भएको जिप्रकामा आयोजित पत्रकार सम्मेलानमा जानकारी गराइएको थियो । त्यस्तै पक्राउ परेकाहरुबाट फेनारगन ९५ एम्पुल, डाईजोपाम ९५ एम्पुल र लुपिजेसिक ९५ एम्पुल समेत गरी कुल २८५ एम्पुल लागूऔषध बरामद भएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
उदयपुर र सप्तरीको सीमा नाका फत्तेपुर हुदै गाईघाट आउदै गरेको स १ प ३२२४ नम्बरको मोटर साइकलमा लागूऔषध प्रतिबन्धित लागूऔषधसहित कारोबारी पनि रहेको गोप्य सूचनाका आधारमा प्रहरीले जोगीदहमा चेकजाँच गर्दा त्रिनपा १२ का १९ वर्षीय रजामुदिन अन्सारी, २४ वर्षिय दिलिप घिमिरे, २० वर्षिय मिलन बिश्वकर्मा, २२ वर्षिय शिब अधिकारी, अर्का २२ वर्षिय बिशाल मगर र २० वर्षिय सागर पौडेल पक्राउ परेको एसपी दाहालले बताए । जोगीदहमा पक्राउ परेकाहरुको साथबाट फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल र लुपिजेसिक ३५ एम्पुलसहित १०५ एम्पुल लागूऔषध भएको हो । उनीहरुको साथबाट तीन थान पनि बरामद भएको छ ।
यसैगरी छिमेकी मूलुक भारत सीमानाकाबाट सप्तरी हुदै उदयपुर ल्याउदै गरेको अबस्थामा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सप्तरी अग्नी साइर कृष्णसबरम गाउँपालिका १ बस्ने ३१ वर्षिय ‘पिके’ भनिने प्रवेश मियाँ र निजको श्रीमती २६ वर्षकी हजारुम खातुनलाई पनि नियन्त्रणमा लिइएको छ ।
दम्पती जोडीको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी कुल १८० एम्पुल लागूऔषध बरामद भएको छ । उनीहरुको साथबाट २ थान मोवाईलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जोगिदह नाकाबाट समातिएकाहरुलाई अनुसन्धान गर्ने क्रममा श्रीमान श्रीमति जोडीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । बुधबार सार्वजनिक गरिएको लागूऔषध र कारोबारीको समूह केहीवर्ष यताकै सबैभन्दा ठूलो हो ।