Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रौतामाई गाउँपालिकामा ३४ लाखको औषधि खरिद काण्ड, निमित्त प्रमुख माधव खतिवडाको सेटिङ फेल

  • उपहार न्युज
  • आइतबार, भाद्र २१ २०७७
रौतामाई गाउँपालिकामा ३४ लाखको औषधि खरिद काण्ड, निमित्त प्रमुख माधव खतिवडाको सेटिङ फेल

विश्वराज तामाङ
उदयपुर भाद्र २१
स्थानिय तहहरुमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता तथा भ्रष्टचारका बिषयहरु सार्वजनिक हुनु नौलो कुरा रहेन यस्तै घटना उदयपुरको एक स्थानिय तहमा पनि देखा परेको छ । उदयपुरको रौतामाई गाउँपालिकामा कर्मचारीले जनप्रतिनिधिलाईनै गुम्राहमा पारेर ३४ लाखको औषधि तथा सर्जिकल सामाग्री खरिद प्रक्रिया अघि बढाए पछि रहस्य सार्वजनिक भएको हो ।
गाउँपालिकाले चालु आर्थिक बर्षका लागि स्वास्थ्य संस्था तथा विभिन्न वडा स्वास्थ्य चौकीको लागि ३४ लाख बराबरको औषधि तथा सर्जिकल सामाग्री खरिद प्रक्रियामा अनियमितता देखिएको हो । गाउँ कार्यपालिकाको निर्णयनै नगरी कर्मचारीले स्वास्थ्य चौकीको लागि औषधि तथा सर्जिकल सामाग्री खरिद प्रक्रिया अघि बढाएका थिए । तर कर्मचारीले औषधि सप्लायर्स संग मोटो रकममा मिलेमतो गर्दै औषधि तथा स्वास्थ्य सामाग्री खरिदको सूचना समेत लुकाएर प्रक्रिया अघि बढाए पछि रहस्य सार्वजनिक भएको छ । भाद्र ५ गते औषधि तथा सर्जिकल सामाग्री खरिदको लागि टेण्डर आव्हान गरिएको सूचना गोप्य ढंगले कमिशनको खेलमा कर्मचारीले लुकाएर टेण्डर प्रक्रिया अघि बढाए पछि रहस्य वाहिर सार्वजनिक भएको हो ।
गाउँपालिकाले औषधि खरिदको लागि कति मुल्यको सूचना निकालेको हो, एक व्यवसायीले गाउँपालिका अध्यक्षलाई केहि दिन अघि जानकारी लिन खोज्दा पालिका अध्यक्ष गजेन्द्र खड्का समेत बेखबर रहेका थिए । उपाहार न्यूजको टोली गाउँपालिकाले औषधि खरिदको शिलबन्दी दरभाउपत्रको सूचना लुकाएको गुनासो प्राप्त भए पछि सो बिषयमा थप जानकारी लिन स्थलगत समाचार संकलनको लागि शिलबन्दी दरभाउ पत्र बुझाउने अन्तिम दिन आईतबार (भाद्र २१) रौतामाई गाउँपालिका पुग्दा गाउँपालिकाका उपाध्यक्ष कुमारी रानाज्यू ठकुरीलाई समेत आफुलाई सो बिषयमा कुनै जानकारी नभएको बताईन् ।
गाउँपलिकाले औषधि खरिदको लागि बोलपत्र आव्हान गरेको बिषयमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई, पालिकामा स्टोर तथा प्रशासन शाखा सम्हाल्दै आएका हालका निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका माधव खतिवडा बाहेक गाउँपालिकाका सबै कर्मचारी बेखबर रहेका छन् ।
गाउँपालिका स्वास्थ्य शाखा इन्चार्ज रामनारायण चौधरी, सूचना प्रविधि अधिकृत नितान्त बस्नेत, लेखापाल भुपध्वज रायामाझी समेतले गाउँपालिकाले औषधि खरिद तथा सर्जिकल सामाग्री खरिद प्रक्रियाको लागि सूचना आव्हान गरेको कुनै जानकारी अन्तिम दिन सम्म पनि थाहा नभएको बताए ।
ठेक्का सुचना लुकाईयो, सेटिङ नमिल्दा ठेक्का रद्द
औषधि तथा सर्जिकल सामाग्री खरिदको बिषयमा विशेष स्रोत मार्फत जानकारी पाए पछि स्थानिय व्यवसायी मिलन थापाले सो बिषयमा जानकारी लिन पटक पटक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव खतिवडालाई सम्पर्क गर्ने प्रयत्न गरेका थिए ।
तर हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारीमा रहेका स्टोर तथा प्रशासन शाखा समेत सम्हाल्दै आएका खतिवडाले पटक पटक सम्पर्क गर्दा पनि फोन नउठाएको व्यवसायी थापाले गुनासो गरे । थापाले गाउँपालिकाले सूचना गाउँपालिकाको वेबसाईटमा राखिएको छ कि भन्दै वेबसाईट समेत हेरे तर वेब साईटमा पनि उक्त सूचना नरहे पछि गाउँपालिकाका एक स्थानियलाई पालिकाको सूचना पाटीमा सूचना टास भए नभएको हेर्न लगाउदाँ सूचना समेत टास नभएको रहस्य प्राप्त भएको बताए ।
यता शिलबन्दी दरभाउपत्र बुझाउने अन्तिम दिन आईतबार गाउँपालिका पुग्दा मात्र पालिकाले भाद्र ५ गते उदयपुरकै एक स्थानिय दैनिक पत्रिका र काठमाण्डौबाट प्रकाशन हुने एक पत्रिकामा सूचना प्रकाशन गरिएको आफुहरुले जानकारी पाएको बताए ।
गाउँपालिकाले भाद्र ५ गते उदयपुर र काठमाण्डौ लगायतका क्षेत्र निषेधाज्ञा रहेको अबस्थामा पत्रिका प्रकाशन भए पनि बजारमा वितरण नहुने थाहा हुदाँ हुदै औपचारिक्ता पुरा गर्नका लागि मात्र सूचना प्रकाशन गरेको प्रष्ट देखिएको थापाले बताए । पालिकाको वेबसाईटमा शिलबन्दि दरभाउपत्र पेश गर्ने अन्तिम एक दिन अघि शनिबार राती सम्म पनि उक्त सूचना पालिकाको आधिकारिक वेबसाईट र सूचनापाटीमा समेत नरहनुले निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव खतिवडा लगायतका कर्मचारीको गलत नियत प्रष्ट रहेको देखिन्छ ।
औषधि खरिदको शिलबन्दिको सूचना बाहिर सार्वजनिक नगरे पनि कर्मचारीको आन्तरिक मिलेमतोमा विभिन्न ६ सप्लायर्सले गाउँपालिकाबाट शिलबन्दि फर्म खरिद गरेका थिए । यति सम्मकी ठेक्का सम्झौतानै नभई तीनै सप्लायर्सले गाउँपालिकाको लागि औषधि सहितको गाडि काठमाण्डौबाट गाईघाट पठाएका थिए, रौतामाई गाँउपालिकाको लागि भन्दै औषधि सहितको उक्त गाडि शनिबार दिउसो गाईघाट आईपुगेको थियो । यता शिलबन्दि सूचना लुकाईएको लगायतको बिषयमा स्थानिय व्यवसायी र पत्रकार समेतको टोली गाउँपालिका पुगे पछि औषधि सप्लायर्सका कुनै पनि फर्म पालिकामा दर्ता भएनन् ।
पालिकाबाट ६ वटा फर्म विक्रि हुदाँ पनि एक जना समेत सप्लायर्सले फर्म दर्ता नगर्नुले पनि कर्मचारीको मिलेमतोमा औषधि खरिदको सेटिङ रहेको प्रष्ट देखिने व्यवसायी मिलन थापाको आरोप छ ।
कर्मचारीले सिमित औषधि सप्लायर्सलाई मात्र शिलबन्दीको बिषयमा जानकारी दिए पछि विभिन्न ६ फर्मले शिलबन्दि हाल्नका लागि फर्म खरिद गरेको

पालिका नआउन निमित्त प्रमुख खतिवडाको विन्ती

माधव खतिवडा निमित्त प्रमुख प्रशासकीय अधिकृत रौतामाई गाउँपालिका

रौतामाई गाउँपालिकाले औषधि तथा सर्जिकल सामाग्री खरिदको प्रक्रिया अघि बढाएको भन्ने जानकारी प्राप्त गरे पछि गाईघाट एक व्यवसायीले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव खतिवडालाई पटक पटक फोन सम्पर्क गरे थिए ।
पटक पटक सम्पर्क गर्दा पनि खतिवडाले ती व्यवसायीको फोन उठाएनन्, शिलबन्दी दरभाउ पत्र पेश गर्ने अन्तिम दिन सो बिषयमा जानकारी लिन पालिका तर्फ लागेका ती व्यवसायी गाउँपालिका केन्द्र भुट्टार आउदै गरेको थाहा पाए पछि निमित्त प्रमुख माधव खतिवडाले फोन गरेर पालिकामा नआउनका लागि आग्रह गरेका थिए । खतिवडाले औषधि खरिदको लागि शिलबन्दी दरभाउपत्र भर्ने अन्तिम तयारी भैसकेको भएकाले पालिका सम्म दुःख नपाउनु भन्दै फोन गरेका थिए । यसबाट पनि पालिकाका निमित्त प्रमुख माधव खतिवडा औषधि खरिद प्रक्रियामा सूचना लुकाएर अन्य सप्लायर्स संगको मिलेमतो रहेको अनुमान लगाउन कुनै गाह्रो बिषय नहुने ती व्यवसायी बताउछन् ।

३४ लाखको औषधि खरिदमा जनप्रतिनिधिनै बेखबर
गाउँपालिकाले ३४ लाख रुपैयाको औषधि खरिद प्रक्रिया अघि बढाएर शिलबन्दी बोलपत्रको प्रक्रिया सक्ने अन्तिम दिनमा समेत जनप्रतिनिधिहरु भने बेखबर छन् । गाउँपालिका अध्यक्ष हाल उपचारको लागि भन्दै राजधानी काठमाण्डौमा छन्, उनलाई गाउँपालिकाले औषधि खरिदको सूचना प्रकाशन गरेको थाहा छ तर कति लाखको औषधि खरिद हुदै छ त्यो बिषयमा थाहा छैन । यता गाउँपालिका उपाध्यक्ष कुमारी रानाज्यू ठकुरीले पनि आफुलाई औषधि खरिदको बिषयमा कुनै जानकारी नभएको बताईन् ।
आफु निरन्तर कार्यालयमा रहे पनि उक्त बिषयको कुनै जानकारी नभएको बताईन चालु आर्थिक बर्षमा गाउँपालिकाको निति, कार्यक्रम र बजेट मात्र पास गर्ने काम भएको उपाध्यक्ष रानाले बताईन् । कार्यक्रम र बजेट पास गरे पनि गाउँपालिकाले काम कार्यान्वयन हुने किसिमको कुनै पनि निर्णय पालिकाले नगरेको बताईन् । गाउँपालिकाले बर्खाको कारण बिग्रेको बाटो बनाउने बाहेका अन्य कुनै पनि निर्णय कार्यान्वयन नगरेको बताईन ।

काम हुन्छ थाहा हुदैन
रौतामाई गाउँपालिकामा विभिन्न कामहरु हुने गर्छन् तर त्यस्ता बिषयमा गाउँपालिकका जनप्रतिनिधि, पालिकामा कार्यरत कतिपय कर्मचारीहरनै बेखबर हुने गरेका छन् । पालिकाले विभिन्न कामहरुमा अनियमितता गर्ने गरेको एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताए । ती कर्मचारीका अनुसार हालका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव खतिवडाले विभिन्न व्यवसायी तथा विचौलिया संगको मिलेमतोमा फर्जि विलहरु बनाएर पालिकामा पेश गर्दै भुक्तानी गराउन उद्दत रहने गरेको बताए ।

लेख्दा लेख्दै समाचार रोक्न आग्रह
रौतामाई गाउँपालिका उदयपुरमा औषधि खरिद प्रक्रियामा भएको अनियमितताको बिषयमा समाचार संकलन गरेर फर्कि सके पछि उपाहार न्यूजको समुहलाई गाउपालिका संबद्ध विभिन्न कर्मचारी तथा व्यक्तिहरुले समाचार प्रकाशन गर्न रोक्नका लागि फोन गरेका छन् । ती व्यक्तिहरुले विभिन्न प्रलोवन देखाउदै समाचार लेख्नका लागि रोक लगाएका छन् ।

Last updated:2020 Sep 06 Sunday 15:43:46

प्रतिक्रिया
सम्बन्धित समाचार