शंकर रिखाम मगर-
उदयपुर, बैशाख १९ । उदयपुरको रौतामाई गाउँपालिकाको एक क्वारेन्टाईनमा बसीरहेका व्यक्तिले झुण्डीएर आत्महत्या गरेका छन् । काठमाडौंबाट बैशाख ११ गते उदयपुर आएलगतै उनी सोहीदिनबाट क्वारेन्टाईनमा बस्न थालेका थिए । रौतामाई गाउँपालिका ७ गुँरासे स्थायी घर भएका १८ वर्षीय शौजन विक (परिवर्तित नाम) ले रौतामाई ७ राजाबासस्थित स्थानीय रौता जनता क्याम्पसको क्वारेन्टाइनमा झुण्डीएर आत्महत्या गरेका हुन् ।
क्वारेन्टाईनमा रहेका कर्मचारीका अनुसार घटना कुन समय भएको हो भन्न एकिन नभएपनि बिक राती उज्यालो हुने समय २ स् ०० बजे फेला परेका थिए । आत्महत्या गर्ने विक राजधानी काडमाडौंमै सामान्य ज्याला मजदुरी गर्दै आएका थिए । उनको लाश सदरमुकाम गाईघाटतर्फ पोस्टमार्टमका लागि ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । क्वारेन्टाईनमा रहेका उनले के कारण आत्महत्या गरे भन्ने विषयमा केही नखुलेकाले अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
(नोट : कोरोना संक्रमणको त्रासपूर्ण अवस्थालाई मध्यनजर गर्दै, समुदाय र परिवारमा पर्ने असरलाई बचाउन समाचारमा आत्महत्या गर्नेको नाम खुल्याइएको छैन ।)