रोमानियाको राजधानी बुखारेस्टमा २५७०औँ बुद्ध जयन्ती विशेष समारोह तथा शान्ति र्याली भव्य रूपमा सम्पन्न भएको छ । कग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको आयोजनामा मे ३, आइतबार सम्पन्न उक्त कार्यक्रममा नेपाली समुदाय, स्थानीय रोमानियाली नागरिक तथा विभिन्न देशका अतिथिहरू सहित करिब ३५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाली दूतावास बर्लिनका कार्यकारी महामहिम राजदूत सागर प्रसाद फुयालको विशेष उपस्थिति रहेको थियो । साथै जर्मनीस्थित TTC Hamburg बाट आचार्य लामा दावा, स्विट्जरल्यान्डबाट लामा छेवाङ तथा रोमानियाका लागि श्रीलंकाका राजदूत महामहिम सामन्था पथिरानाको समेत सहभागिता रहेको थियो ।
बुद्ध जयन्ती समारोहमा बुद्ध पूजा, शान्ति प्रार्थना, दीप प्रज्वलन तथा विभिन्न धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएको थियो । सहभागीहरूले विश्व शान्ति, करुणा, सहअस्तित्व र मानव एकताको सन्देश प्रवाह गर्दै बुखारेस्टमा शान्तिपूर्ण र्याली समेत आयोजना गरेका थिए । र्यालीका क्रममा सहभागीहरूले नेपाली राष्ट्रिय झण्डा, बुद्धिस्ट झण्डा तथा भगवान बुद्धका तस्वीरहरू बोकेर शान्ति र सद्भावको सन्देश दिएका थिए ।
कार्यक्रममा रोमानियामा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपाल तामाङ घेदुङ, शेर्पा समुदाय संघ, नेपाल मगर संघ, तमु समाज तथा किराँत समावेशी समाजका प्रतिनिधि तथा पदाधिकारीहरू आफ्ना-आफ्ना संस्थाका ब्यानरसहित कार्यक्रममा सहभागी भएका थिए ।