Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

नेपाल रोमानिया द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न

  • उपहार न्यूज
  • मंगलबार, बैशाख २२ २०८३
नेपाल रोमानिया द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न

बिज्ञान पराजुली / रोमानिया

नेपाल – रोमानिया बीच कूटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल–रोमानिया द्विपक्षीय परामर्श संयन्त्र को पहिलो बैठक सोमबार रोमानियाको परराष्ट्र मन्त्रालय, बुखारेस्टमा सम्पन्न भएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको युरोप डिभिजनका सहसचिव गणेश प्रसाद ढकालले नेतृत्व गर्नुभएको थियो भने रोमानियाको तर्फबाट एशिया प्रशान्त तथा ल्याटिन अमेरिका निर्देशनालयकी कार्यवाहक महानिर्देशक डायना टासेले नेतृत्व गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा बर्लिनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागर प्रसाद फुयाँल, परराष्ट्र मन्त्रालयका उपसचिव उत्तम घिमिरे तथा तृतीय सचिव दीपेन्द्र प्रसाद साह सहभागी हुनुहुन्थ्यो ।

बैठकमा नेपाल–रोमानिया सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत छलफल भएको जनाइएको छ । विशेषगरी आर्थिक सहकार्य, जनस्तरको सम्बन्ध, श्रम तथा कन्सुलर सेवा, बहुपक्षीय सहयोग, ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।

बैठकका क्रममा नेपाली पक्षले काठमाडौंमा रोमानियाको कूटनीतिक नियोग स्थापना गर्न आग्रह गरेको थियो । साथै रोमानियामा नेपाली समुदाय सबैभन्दा ठूलो गैर-युरोपेली श्रमिक समूहको रूपमा रहेको उल्लेख गर्दै रोमानियाली पक्षले पनि रोमानियामा नेपाली कूटनीतिक नियोग आवश्यक रहेको धारणा व्यक्त गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रोमानियाली पक्षले नेपाली समुदायले रोमानियाको अर्थतन्त्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेको छ । सहसचिव ढकालले रोमानिया सरकारले नेपाली नागरिकलाई रोजगारी तथा अवसर उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नेपाली कामदारहरूलाई सहज र प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । हाल रोमानियामा ५५ हजारभन्दा बढी नेपाली विभिन्न पेशामा कार्यरत रहेको अनुमान गरिएको छ ।

बैठकअघि नेपाल र रोमानियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर समेत भएको थियो । उक्त समझदारीपत्रमा नेपालको तर्फबाट सहसचिव गणेश प्रसाद ढकाल तथा रोमानियाको तर्फबाट परराष्ट्र मन्त्रालयकी राज्य सचिव आना क्रिस्टिना टिन्काले हस्ताक्षर गर्नुभएको थियो ।

नेपाल–रोमानिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आयोजित यो बैठकलाई दुवै देशबीचको कूटनीतिक सम्बन्धमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Last updated:2026 May 05 Tuesday 01:25:14

प्रतिक्रिया
सम्बन्धित समाचार