उपहार न्यूज
गाईघाट चैत ६
लघुवित्त कर्मचारी मिलन केन्द्र गाईघाट, उदयपुरको आयोजनामा ग्लोबल मनि विक २०२६ कार्यक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका भित्र रहेका १८ वटा लघुवित्त संस्था तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहित कुल १९ वटा वित्तीय संस्थाको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. गाईघाट सेवा केन्द्रका प्रमुख बिदुर प्रसाद रेग्मीका अनुसार कार्यक्रममा विभिन्न लघुवित्त संस्थाका कर्मचारी तथा सदस्य गरी झण्डै २०० जनाको उपस्थिति रहेको थियो ।
१६ मार्च २०२६ देखि २२ मार्च २०२६ सम्म सञ्चालन हुने सप्ताहव्यापी ग्लोबल मिन विक २०२६ अन्तर्गत गाईघाटमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक ¥याली आयोजना गरिएको थियो । त्रियुगा बसपार्कबाट सुरु भएको ¥यालीले विभिन्न नारासहित बैंकरोड हुँदै पिपलचोक परिक्रमा गरी राधाकृष्ण मन्दिर अगाडि पुगेर कोणसभा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा सहभागी विभिन्न संस्थाबाट ६ जना सदस्य तथा ३ जना कर्मचारीले बैंक तथा वित्तीय संस्थाबाट बचत तथा ऋण कारोबार गर्दा हुने फाइदा तथा आफूले प्राप्त गरेको अवसरका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष हरिराम चौधरीले ग्लोबल मनि विकको महत्व, वित्तीय साक्षरताको आवश्यकता तथा बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दा हुने फाइदाका विषयमा प्रकाश पार्नुभएको थियो ।

