विश्वराज तामाङ
उदयपुर फागुन २७
त्रिभुवन विश्व विद्यालयले २०८१ चैत ५ गतेको लागि आव्हान गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने उदयपुरका तीन क्याम्पस मध्य दुईमा निर्वाचन हुने संभावना टरेको छ । उदयपुरको सबै भन्दा पुरानो त्रियुगा जनता बहुमुखी क्याम्पस र बरुवा क्याम्पसमा मतदाताको बिषयलाई लिएर विवाद सिर्जना हुदा निर्वाचन हुने संभावना टर्दै गएको छ ।
बसाह स्थित नारद आदर्श क्याम्पसमा भने कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी दर्ता भएको छ । लामो समय देखि निर्वाचन हुदै आएको त्रियुगा जनता बहुमुखी क्याम्पसमा निर्वाचन समितिले फर्जि मतदाता नामवली प्रकाशन गरेको भन्दै नेपाल विद्यार्थी संघले असहमती जनाउदै आएको थियो ।
निर्वाचन कार्यतालिका अनुसार त्रियुगा जनता बहुमुखी क्याम्पसमा विभिन्न ७ विद्यार्थी संगठनहरु दर्ता भएका छन् । नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारी, नेकपा बहुमत निकट अनेरास्ववियु बहुमत, एकिकृत समाजवादी निकट अनेरास्ववियु समाजवादी, उपेन्द्र यादव नेतृत्वको समाजवादी विद्यार्थी संगठन र असोक राई नेतृतवको जसपाको विद्यार्थी संगठन निर्वाचन समितिमा दर्ता भएको निर्वाचन समितिका संयोजक प्रध्यापक टिक खतिवडाले बताउनु भयो ।
यता विद्यार्थी संगठनहरुको विचमा सहमती जुटाएर निर्वाचन प्रक्रिया अघि बढाउनको लागि भन्दै क्याम्पस प्रशासनले फागुन १९ गते सर्वपक्षिय छलफलको आयोजना गरेको थियो । उक्त छलफलमा त्रिभुवन विश्व विद्यालयले माघ ११ गते सम्म भर्ना भएकालाई मात्रै मतदाता बनाउने भन्ने परिपत्रलाई परिपालना गर्दै निर्वाचनको प्रक्रिया अघि बढाउनको लागि विद्यार्थी संगठन र क्याम्पस सहमत भएको क्याम्पस प्रमुख प्रा.डा कैलाश कुमार राईले बताउनु भयो ।
तर त्यस पछिको घटनाक्रममा नेपाल विद्यार्थी संघ र एकिकृत समाजवादी निकट अनेरास्ववियुले विभिन्न बिषयमा असहमती जनाउदै आए पछि त्रियुगा जनता बहुमुखी क्याम्पसमा निर्वाचन अनिश्चित भएको हो ।
निर्वाचन समितिले फागुन २१ गते मतदाता नामवली भन्दै १५०३ मतदाताको नामवली प्रकाशन ग¥यो । उक्त नामवली मध्य सबै विद्यार्थीको नाम र अभिभावकको नाम रहे पनि २३ जना विद्यार्थीको भने अभिभावक नाम समेत उल्लेख नगरी नामवली निर्वाचन समितिले सार्वजनिक गरेको थियो ।

त्रियुगा जनता बहुमुखी क्याम्पसको निर्वाचन समितिमा फागुन २१ गते तालाबन्दी गर्दै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरु
नेपाल विद्यार्थी संघले उक्त नामवलीउपर दाबी विरोध प्रस्तुत गर्दै निर्वाचन समितिले फर्जि विद्यार्थीको नामवली प्रकाशन गरेको भन्दै विरोध स्वरुप निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको नेपाल विद्यार्थी संघ उदयपुरका सभापती रोशन कार्कीले बताए ।
निर्वाचन समितिले आवश्यक छानविन गरेर फागुन २७ गते पुन आवश्यक कागजात पुरा भएका विद्यार्थीको नाम सार्वजनिक गर्दै कागजात नपुगेका ११ विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र ल्याउनको लागि सूचना प्रकाशन गरेको थियो । नेपाल विद्यार्थी संघले भने सो बिषयको पुन विरोध ग¥यो कागजातनै नलिई नाम दिएको भरमा क्याम्पस प्रशासनले विद्यार्थी भर्ना गर्ने जस्तो गम्भीर त्रुटि गरेको भन्दै उक्त विद्यार्थीलाई मतदाता नामवलीबाट हटाउनु पर्ने अडान कायम राख्यो ।
मंगलरबार आयोजित सर्वपक्षिय बैठकमा बोल्दै नेविसंघ सभापती कार्कीले भने कुनै अमुक संगठनलाई सुविधा पुग्ने हिसाबले क्याम्पस प्रशासनले यो हद सम्मको कम्जोरी गर्नु कति सम्म जायज छ । हामी विद्यार्थीको पढ्न पाउने अधिकार खोस्ने भनेका हैनौ आवश्यक प्रक्रियानै नपुगी भर्ना भएका विद्यार्थीलाई मतदाता नबनाउनुस मात्रै भनेको हौ । क्याम्पस प्रशासनले आफै विधि र विधान मिचेर विना शैक्षिक योग्यताको कागजातको आधारमा भर्ना गरेको भन्छ भने हामी कसरी मान्छौ नेविसंघ सभापती कार्कीले भने । हामी निर्वाचन भाड्ने पक्षमा छैनौ तर क्याम्पस प्रशासनले यो गम्भीर गल्ती नसच्याए सम्म हामी निर्वाचनमा भाग लिदैनौ कार्कीले थपे ।

अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेताहरु त्रिजब क्याम्पसमा
यता अनेरास्ववियु क्रान्तिकारीेले भने नेपाल विद्यार्थी संघले उठाएको माग जायज भएकाले ११ जना विद्यार्थी जस्ले शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरी भर्ना भएका छन् उनीहरुलाई तत्काल मतदाता सूचीबाट हटाएर चैत ५ मै निर्वाचन सुनिश्चित गर्नु पर्ने माग राखेको छ ।
त्रिभुवन विश्व विद्यालयले चैत ५ गतेका लागि निर्वाचन मिति तोकेको छ हामी चैत ५ भन्दा पछि निर्वाचन गर्ने सहमतीनै भए पनि निर्वाचनमा सहभागी हुदैनौ मंगलबारको बैठकमा अखिल क्रान्तिकारीका नेता विमल कार्कीले भने ।
यता एकिकृत समाजवादी विद्यार्थी संगठनको भने माग फेरी अलग्गै छ फागुन १९ गतेको बैठकमा भने माघ ११ गते सम्म भर्ना भएका विद्यार्थीलाई मात्रै मतदाता बनाउने सहमतीमा हस्ताक्षर गरे पनि नेकपा एस निकट अनेरास्ववियुले भने आफैले गरेकोे सहमती भन्दा फरक माग राख्दै आएको छ ।

एमाले निकट अनेरास्ववियु विद्यार्थी नेताहरु त्रिजब क्याम्पसमा
उक्त विद्यार्थी संगठनले माघ ११ पछि पनि क्याम्पसमा भर्ना हुन आएका झण्डै दुई सय विद्यार्थीलाई पनि निर्वाचन प्रक्रियामा समावेश गर्नु पर्ने अडान राखेको छ । नेकपा एस निकट अनेरास्ववियुका इकाई अध्यक्ष सिताराम कोइरालाले आम विद्यार्थीहरुको हक र अधिकारको लागि क्याम्पसमा मतदाता नामवली निकाल्ने दिन सम्म भर्ना भएका विद्यार्थीलाई मतदाता बनाउनु पर्ने माग राखे हामी विद्यार्थीको अधिकारको लागि स्थापित भएको संगठन भर्ना भएका विद्यार्थीलाइ बाहिर राखेर निर्वाचन प्रक्रिया अघि बढ्न सक्दैन कोइरालाले बैठकमा भन ।

एकिकृत समाजवादी निकट अनेरास्ववियु विद्यार्थीहरु
यता एमाले निकट अनेरास्ववियुले भने निर्वाचन समितिले सार्वजनिक गरेको नामवली प्रति सहमत जनाउदै निर्वाचनको प्रक्रिया अघि बढ्नु पर्ने बताउदै आएको छ । अनेरास्ववियुका केन्द्रिय सदस्य भुवन दाहालले फागुन १९ गते सर्वपक्षिय सहमतीको आधारमा भएको निर्णय अनुसार अघि बढ्नु पर्ने अडान राख्दै आएको छ । निर्वाचन समितिले जारी गरेको १५०३ जना मतदाताको नामवलीमा कटौती भए हामी तालाबन्दी गर्छौ दाहालले बैठकको क्रममा भने ।
यता क्याम्पस प्रशासनले भने अर्को सूचना जारी नभए सम्मको लागि भन्दै निर्वाचनको कार्यतकालिका स्थगीत गरेको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले विद्यार्थी संगठनहरुको विचमा सहमती जुटाउने प्रयास जारी राखेको क्याम्पस प्रमुख प्राध्यापक डाक्टर कैलाशकुमार राईले बताउनु भयो ।
बरुवामा पनि उस्तै
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने उदयपुरको अर्को क्याम्पस हो बरुवा क्याम्पस सो क्याम्पसमा करिब ६ सयको हारहारीमा विद्यार्थी छन् । उक्त क्याम्पसमा निर्वाचन प्रक्रिया अनुसार विभिन्न ५ विद्यार्थी संगठन दर्ता भएका छन् । तर त्यहाँ पनि मतदाता विद्यार्थीको नामवलीको बिषयलाई लिएर सहमती जुट्न नसक्दा निर्वाचन हुने संभावना कम रहेको क्याम्पस प्रमुख भिमबहादुर खड्का बताउनु हुन्छ ।
विद्यार्थी संगठनहरु विच त्यहाँ पनि मतदाताकै बिषयलाई लिएर सहमती जुट्न सकेको थिएन अनेरास्ववियुले माघ ११ गते सम्म भर्ना भएका विद्यार्थीलाई मात्रै मतादाता नामवलीमा समावेश गर्नु पर्ने माग राखेको थियो भने अखिल क्रान्तिकारीले माघ ११ पछि पनि भर्ना भएका विद्यार्थीलाई मतदाता नामवलीमा समावेश गर्नु पर्ने अडान राख्यो ।
यता नेपाल विद्यार्थी संघले भने दुई विद्यार्थी संगठनले राखेका माग मध्य दुई संगठन विच सहमती हुदा आफुहरु मान्न तयार रहेको बताउदै आएको थियो ।
दुई विद्यार्थी संगठनको सहमती नजुट्दा फागुन २१ मा निर्वाचन समितिले नामवली प्रकाशन गर्न सकेको थिएन यता नेविसंघले भने कार्यतालिका अनुसार फागुन २१ मा मतदाता नामवली प्रकाशन गर्न नसकेकोले फागुन २३ गते ५ बजे सम्म कार्यतकालिका अनुसार मतदाता नामवली प्रकाशन गर्नु पर्ने भन्दै क्याम्पसमा अल्टीमेटम दिएको थियो । तर क्याम्प प्रशासनले दुई अखिल विचमा सहमती नजुट्दा नेविसंघले दिएको समय सिमा भित्रमा पनि नामवली प्रकाशन गर्न नसके नेविसंघले निर्वाचनमा सहभागी नहुने बताउदै आएको छ ।
नारद आदर्शमा अखिल भर्सेस तीन संगठन
स्वतन्त्र विद्यार्थी युनियनको कार्यतकालिका बमोजिम उदयपुरको चौदण्डिगढी नगपालिका ४ स्थित नारद आदर्श क्याम्पसमा फागुन २७ गते मनोनयन दर्ता भएको छ । उक्त क्याम्पसमा एमाले निकट अनेरास्ववियु एक्लै चुनावी मैदानमा प्यानल सहित उत्रिएको छ । यता नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनको संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएको छ ।
संयुक्त प्यानलबाट अध्यक्षमा अखिल क्रान्तिकारीका ज्ञान्दिप थुलुङ, सचिवमा नेविसंघका लोकेश राउत र कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनका सजिना राई उम्मेदवार भएका छन् । त्यसैगरी सदस्यमा अखिल क्रान्तिकारीका संजोग राई र सदस्यहरुमा नेपाल विद्यार्थी संघबाट प्रविण राई, मुस्कान विश्वकर्मा त्यसै गरी समानुपातिक सदस्यहरुमा रोज राई, खगिन मगर, विपना राई, खुसी राई र दिव्या राई रहेका छन् ।
यता अनेरास्ववियुको तर्फबाट अध्यक्षमा केवल तामाङ, सचिवमा हिरामणी विष्ट, कोषाध्यक्षमा अलिसा विसुङखे सदस्यहरुमा अस्मिता तामाङ, सन्ध्या भण्डारी, यमुना श्रेष्ठ त्यसैगरी समानुपातिक सदस्यहरुमा निनाम राई, सुनिल खत्री, शिक्षा लामा, वर्षाकुमारी तामाङ र सोनिया राई रहेको निर्वाचन समितिका अधिकृत नगेन्द्र बहादुर मगरले बताउनु भयो ।