उपहार न्यूज
उदयपुर असार ८
त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न विद्यालयहरुको घटुवा तथा शिक्षकहरुको अन्तरविद्यालय सरुवाको विषयलाई लिएर राजनैतिक दलहरुले त्रियुगा नगरपालिकालाई ध्यानकर्षण गराएको छ । शनिवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादीले नगरपालिकाले मापदण्डको निर्धारणनै नगरी हचुवाको तथा पूर्वाग्राहि ढंगले विद्यालयको तह घटुवा तथा दरबन्दी मिलाको नाममा जथाभावी शिक्षक सरुवा गरेको प्रति ध्यानकर्षण गरएको हो ।
शिक्ष्क र बालबालिकाको शिक्षण सिकाइको प्रभावकारीताको हिसाबले अतिनै महत्वपूर्ण र संवेदनशील समय भएकाले बालबालिकाको पढाई अलपत्र पार्ने, बाल मनोविज्ञान माथि खेलवाड गर्ने, गरिब परिवारका बालबालिकाले आफ्नो विद्यालयमा लगाउने पोशाक परिवर्तन गरि लगाउनु पर्ने, घरपायक पर्ने विद्यालय छाडी अन्यत्र जानुपर्ने परिस्थितिको निर्माण गरि विद्यालयको तह घटाउने गरि गरिएको निर्णय नगर प्रमुखको ठाडो आदेशमा नगरका विभिन्न विद्यालयमा शिक्षक नियुक्तिका लागि अगाडी बढेको प्रक्रिया रोकिएको र दरबन्दी मिलानको नाममा शिक्षकहरुको राजनैतिक पूर्वाग्रहका आधारमा वेइमानीपूर्ण आशयले गरिएको सरुवा प्रति आफुहरुको घोर भत्र्सना रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शिक्षकहरुको सरुवा फिर्ता लिन त्रियुगा नगरपालिकालाई अपिल गर्दै यदि पुनरर्विचार नगरी यथास्थितिमा राखिएमा यसबाट सिर्जना हुने समस्या प्रति नगरपालिका स्वयम जिम्मेबार हुन विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेस जिल्ला उपसभापती भिमचन्द्र राई, एमाले सचिव टेक बहादुर राउत, माओवादी केन्द्रका प्रदेश सदस्य द्रोण पौडेल, राप्रपा सह सचिव नवराज रायमाझी, जसपा अध्यक्ष ओशन घिमिरे र एकिकृत समाजवादी जिल्ला सचिव पशुपति चौधरीद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गरिएको हो ।
नेपाली कांग्रेसको पार्टी कार्यालय गाईघाटमा विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन पछि सर्वदलिय टोलीले त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राईलाई समेत भेटेर ज्ञापन पत्र पेश गरेका थिए । सो क्रममा त्रियुयगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले त्रियुगा नगरपालिकाले हचुवाको भरमा नभएर विधि र प्रक्रियानै बुझेर शिक्षक सरुवा तथा विद्यालयको तह घटुवा गरिएको बताए । उनले त्रियुगा नगरपालिकाले गरेको निर्णयमा कहि कतै कमिकम्जोरी भए त्यसलाई सुधार गरेर लग्न सकिने बताए । नगर प्रमुख बस्नेतले नगरपालिका त्रियुगा नगरपालिका क्षेत्रको शिक्षा क्षेत्रको सुधारको लागि परेकाले सबै राजनैतिक दलहरुलाई सहयोग गर्न समेत आव्हान गर्नु भयो ।
नगर प्रमुख बस्नेतले त्रियुगा नगरपालिका क्षेत्रका शिक्षा क्षेत्रमा धेरै वेतिथि रहेकाले नगरपालिकाले त्यसलाई क्रमबद्ध रुपमा सुधार गर्नका लागि विभिन्न चरणमा काम गर्दै आएको बताए । त्रियुगा नगरपालिका क्षेत्रका शिक्षकहरु आफ्ना छोरा छोरीलाई निजि विद्यालयमा भर्ना गराएर आफु सरकारी तलब भत्ता सुविधा लिएर विद्यालयमा राम्रो संग आफ्नो जिम्मेबारी पुरा नगर्ने गरेको पाईएको बताए ।
नगर प्रमुख बस्नेतले विद्यालयमा विद्यार्थीको लागि आउने खाजा वापतको रकम समेत विद्यालयका शिक्षकहरुले अनियमितता गरेको प्रमाण नगरपालिका संग आईपुगेकाले त्यस बिषयमा समेत आफुहरु कारवाहिमा लाग्ने बताए ।