उदयपुर । उदयपुरकी भीमाकुमारी खत्री जिल्लामै अहिलेसम्मको सबैभन्दा कम उमेरमा सरकारी शिक्षक बनेकी छन् । २० वर्षीया भीमाले शिक्षक सेवा आयोगको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि कोशी प्रदेशबाट नाम निकाल्न सफल भएकी हुन् ।
यसअघि नै लिखित उत्तिर्ण भएकी उनले अघिल्लो महिना २२ देखि २६ गतेसम्म संचालन भएको अन्तरवार्तामा समेत आफूलाई अब्बल सावित गरिन् । आयोगले केही दिनअघि नेपाली, अंग्रेजी र गणित विषयको नतिजा प्रकाशन गरेको थियो । जसमा कोशी प्रदेशमा ९ जना निम्न माध्यमिक तहको शिक्षक माग भएको थियो ।
उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्तांकको आधारमा कोशी प्रदेशले शिक्षक नियुक्तिका लागि छनोट गरेको हो ।
भर्खरै गणित विषयका निमावि शिक्षक बनेका उनी जिल्लाकै त्रियुगा जनता बहुमुखी (त्रिजव) क्याम्पस मोतिगडामा शिक्षा संकायअन्तर्गत स्नातक तेस्रा वर्षमा अध्ययनरत छिन् । रौतामाई गाउँपालिका ४ स्थित स्थानीय महेन्द्र माध्यमिक विद्यालय रसुवा पोखरीबाट एसइईसम्मको पढाई पूरा गरेकी उनी १० जोड दुई त्रिजवबाट थालेकी थिइन् ।
२०७४ सालमा एसइई उत्तिर्णपछि कक्षा ११ र १२ मा समेत उत्कृष्ट बनेकी भीमाकुमारी अबको केही दिनमै कार्यक्षेत्रमा ‘पोस्टीङ’ हुदैछिन् । उप्रान्त शिक्षण पेशासँगै आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिने उनको योजना छ ।

#भीमाकुमारी #Bhimakumari