उदयपुर । चाँडपर्व नजिकिएसँगै उदयपुरमा निजी तथा सार्वजनिक सवारी साधनहरुमाथि चेकजाँच कडाइ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय गाईघाट र उदयपुर ट्राफिक प्रहरीको सक्रियतामा बढ्दो सवारी आवतजावतबाट हुने दुर्घटना तथा यात्रु ठगिने कार्य न्यूनीकरण गर्न सामूहिक अनुगमनलाई तीब्रता दिइएको हो ।
जिल्लाअन्तर्गत पर्ने पूर्व-पश्चिम बैकल्पिक मदन भण्डारी राजमार्ग र शिद्धिचरण राजमार्ग क्षेत्रमा निगरानी बढाइएको यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख श्यामकुमार लिम्बूले जानकारी दिए । ‘यात्रु सुरक्षा, तोकिएको मापदण्ड र प्रयोजन अनुसार प्रयोग भए नभएको विशेष हेरिरहेका छौँ’ प्रमुख लिम्बूले भने, ‘प्रदेश सरकारले निर्धारण गरेको भाँडादरबारे यात्रु स्वयं पनि सचेत हुनुपर्छ ।’
अहिले पछिल्लो समय प्रदेश सरकारले बस तथा भ्यान जीपका लागि निर्धारण गरेको भाडादर कार्यन्वयन भए नभएको, एक प्रयोजनका लागि दर्ता गरिएको अर्कै काममा प्रयोग भइरहेको सवारी सधान र कानुनले तोकेको मापदण्डभन्दा फरक संचालनमा रहेका सवारीसाधनमाथी विशेष निगारी गर्दै आएको लिम्बूको भनाई छ ।
मदन भण्डारी र शिद्धिचरणमा छड्के चेकजाँच
यातायातको क्षेत्रमा पछिल्लो पटक बनेका ऐन कानुन र निर्धारित भाडादर तथा व्यवस्थाबारे कार्यन्वयनको पक्ष बुझ्न अघिल्लो दिन यातायात कार्यालय र ट्राफिक प्रहरीको टोलीले संयुक्त रुपमा चेकजाँच गरेको थियो । कटारी बजार नजिक गाईघाट र मिर्चैया जाने तीनकुने सडक क्षेत्रमा यातायात अनुगमन गर्दा भाँडादरमा ठगिएका भने कोही देखिएनन् ।
केहीले व्यवसायिक र निजी नम्बर प्लेट दुरुपयोग गरेको पाइएको उदयपुर ट्राफिक प्रहरी प्रमुख लोकबहादुर दियालीले जानकारी दिए । दियालीका अनुसार सो क्रममा बिभिन्न २७ वटा सवारीसाधन कारवाहीमा परेका थिए । अत्यधिक यात्रु आउजाउ गर्ने यो समय गरिने अनुगमनले यात्रु र चालकहरुमा सकारात्मक सचेतनास्तरको सन्देश जाने यातायात कार्यालयका प्रतिनिधि पुष्पेन्द्रकुमार यादवले बताए ।
त्यस्तै सोही दिन दुई समूहमा बिभाजन भएको अर्को टोलीले कटारी बजारदेखि घुर्मी-ओखलढुंगा हुँदै सोलुखुम्बुसम्म चल्ने सवारीसाधनहरु समेत शिद्धिचरण राजमार्गमा चेकजाँच गरेको थियो । सो क्रममा ३९ वटा साना ठूला सवारीसाधन कारवाहीमा परेका थिए । अनुगमन टोलीमा यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका पुष्पेन्द्रकुमार यादव पाँच प्रतिनिधि, उदयपुर ट्राफिक प्रहरी कार्यालय गाईघाट र कटारी ट्राफिक प्रहरी कार्यालय तथा पत्रकारलगायतको सहभागिता थियो ।