Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा यात्रु सचेत नहुँदा ठगिदै, यातायात कार्यालयले अनुगमन गर्ने

  • उपहार न्यूज
  • शनिबार, असोज २० २०८०
उदयपुरमा यात्रु सचेत नहुँदा ठगिदै, यातायात कार्यालयले अनुगमन गर्ने

देबराज राई –
उदयपुर । चाँडपर्वहरु नजिकिएसँगै सार्वजनिक यातायातमा सवार यात्रु ठगिने गरेको गुनासोहरु हरेक वर्ष सुनिनु प्राय सामान्यजस्तो भइसक्यो । केही दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै केही यातायात व्यवसायीहरु भाडादर बढाएर सर्वसाधरणमाथि भार थप्न थालेको खबरहरु समेत सार्वजनिक भएका छन् । पेट्रोलियम पदार्थको मूल्य यथावत गरिए पनि व्यवसायीहरु भने भाडादर बढाउने गरेको गुनासो प्राय ग्रामिण भेगमा चल्ने यातायातमा सवार यात्रुको छ ।

यी गुनासोहरुबाट उदयपुर अछुतो छैन । जिल्लाको बिभिन्न सवारीसाधनहरुले आफूखुसी मूल्य निर्धारण गरी यात्रु ठग्ने गरेको गुनासो बढ्द थालेपछि केही समयअघि नयाँ दर कायम गरिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०८० भदौ ३ गतेदेखि नै लागू हुने गरी सार्वजनिक गरेको नयाँ भाडादरबारे थाहा नहुदा कतिपय यात्रु अझै ठगिने गरेका छन् ।

सदरमुकाम गाईघाट बजारदेखि कटारीसम्मको भाडा हाल २०१ रुपैयाँ निर्धारण गरिएको छ । तर, गाईघाट फूलचोकका पदम चौधरी भने ३५० रुपैयाँ तिरेर कटारीबाट गाईघाट पिपलचोकमा उत्रिए । ‘निकायले निर्धारण गरेको नयाँ भाडादर थाहा भएन’ ठगिएका चौधरीले भने, ‘राज्यले तोकेको भाडादर थाहा भएको भए उजुरी दिन्थे ।’ कतिपय यात्रु निर्धारित भाडादरबारे अनविज्ञ भएकै कारण प्रतिकार गर्न नसक्दा ठगिने गरेको बुझीएको छ ।

गाईघाट कटारी, गाईघाट बेल्टा, बसाहा हुँदै रामपुरलगायतको क्षेत्रमा गुड्ने सार्वजनिक यातायातले पनि अधिकांसले भर्खरै निर्धारित भाडादल कार्यन्वयन गरेका छैनन् । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख श्यामकुमार लिम्बूका अनुसार यसअघि यी रुटहरुमा कच्ची सडक थियो । कच्ची र पक्की (पिच) सडकको भाडादर भने फरक हुन्छ । ‘उहिलेको अप्ठ्यारो कच्ची सडकमै असुल्ने महंगो भाडादर अहिले सडक सहज हुँदा पनि यातायात व्यवसायीले उठाउनु गलत हो’ प्रमुख लिम्बूले भने, ‘नियमनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गर्नेछौँ ।’

यता नयाँ भाडादरबारे जानकारहरुले भने आफूहरु ठगिएको थाहा पाएपछि प्रहरीमा जाहेरी गर्न थालेका छन् । केही दिनअघि काडमाडौंबाट बेल्टार आउदै गरेका दुई यात्रुबाट ठगिएको दुई हजार रुपैयाँ प्रहरीले फिर्ता गराएको छ । आशीयाना यातायातबाट सञ्चालित माईक्रोले स्थानीय विजय विश्वकर्मा र प्रवेश भट्टराईबाट चार हजार पाँच सय असुलेको थियो । काठमाडौंदेखि बेल्टारसम्म भन्दै बा ३ ख ९७८८ नम्बरको माइक्रोमा चढेका विजय र प्रवेशलाई गाईघाटमै झारिएको थियो । लगतै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि भाडादरभन्दा बढी लिइएको दुई हजार फिर्ता पाएको उदयपुर ट्राफिम प्रहरी प्रमुख आलोक दियालीको भनाई छ ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख लिम्बू भने यात्रुहरुले पनि सचेत भएर नयाँ भाडादर कार्यन्वयनमा भूमिका खेल्नुपर्ने बताउछन् । ‘आफू ठगिएको थाहा पाए तुरुन्त सम्बन्धित निकायमा उजुरी गरे कार्यन्वयन प्रक्रियामा सहजता हुने थियो ।’ लिम्बूले यातायात कार्यालय र जिल्लास्थित ट्राफिक प्रहरीसँग समन्वय गरेर पछिल्लो समय जिल्लाभित्रका बिभिन्न सडकहरुमा भाडादर अनुगमन भइरहेको जानकारी दिए ।

उदयपुरदेखि बिभिन्न रुटमा जाने यात्रुले थाहा पाउनै पर्ने यो नयाँ भाडादर :

आफूखुसी भाडा असुल्ने क्रम नरोकिएपछि एकरुपताका लागि प्रदेश सरकारले यात्रुवाहक बस, मिनी बस, जीप तथा भ्यानलगायका सवारी साधनमा छुट्टाछुटै भाडादर कायम गरेको छ । २०८० भदौ ३ गतेदेखि नै लागु भएको लामो तथा छुटो दूरीका सवारी साधन भाडादर अनुसार सदरमुकाम गाईघाट बजारदेखि बेल्टार-रामपुर- धरान हुँदै प्रदेश राजधानी बिराटनगरसम्म पुग्न बस, मिनी बसका लागि ३५४ र भ्यान, जीपका लागि ४४५ तोकिएको छ । जसको दूरी कुल ११३ किलोमिटर छ । गाईघाटदेखि बेल्टार-रामपुर-कालाबन्जारा हुँदै बिराटनगर सम्म १०६ किलोमिटरको दूरी यात्रा गर्दा बस, मिनिबसले ३३२ र भ्यान, जीपले ४१८ रुपैयाँसम्म भाडा असुल्न पाउनेछन् ।

त्यस्तै उदयपुरको कटारीदेखि गाईघाट-रामपुर हुँदै धरानसम्मको १२३ किलोमिटर दूरी पार गर्दा बस, मिनिबसले ३८५ र भ्यान, जीपले ४८५ रुपैयाँ भाडा लिन पाउनेछन् । त्यस्तै गाईघाटदेखि बेल्टार जाँदा पार गर्ने २३ किलोमिटर दूरीमा बस, मिनिबस ७२ रुपैयाँ र भ्यान, जीपलाई ९० रुपैयाँसम्म भाडा असुल्न सक्ने दर तोकिएको छ । गाईघाट-बसाहको २७ किलोमिटर यात्रामा बस, मिनिबसले ८४ र भ्यान जीपले १०६ रुपैयाँ भाडा पाउनेछन् ।

गाईघाट-सुपाडेका लागि ३३ किलोमिटर यात्रा गर्दा बस, मिनिबसलाई १०३ र भ्यान, जीपलाई १३० रुपैयाँ यात्रुले तिर्नुपर्छ । गाईघाटदेखि बेलकाको लालबजारसम्म यात्रा गर्दा पार हुने ३८ किलोमिटर दूरीका लागि बस, मिनिबस ११९ र भ्यान, जीपका लागि १४९ रुपैयाँ भाडादर कायम गरिएको छ । रामपुरदेखि गाईघाटसम्मको ४४ किलोमिटर यात्रा गर्दा बस, मिनिबसका लागि १३७ र भ्यान, जीपका लागि १७३ रुपैयाँ भाडादर तोकिएको छ ।

यसैगरी गाईघाट-सोमबारेसम्मको ४७ किलोमिटर यात्रा गर्दा यात्रुले बस, मिनिबसका लागि १४७ र भ्यान, जीपनका लागि १८५ रुपैयाँ निर्धारण गरिएको छ । गाईघाटदेखि कोशीपुलसम्म जान पार हुने ५४ किलोमिटरको यात्रा पूरा गर्दा बस, मिनिबसले १६९ रुपैयाँ र भ्यान, जीपनले २१३ रुपैयाँ भाडा असुल्नुपर्नेछ । गाईघाटदेखि चतारासम्म ५७ किलोमिटर यात्रा गर्दा यात्रुले बस, मिनिबसमा १७८ र भ्यान जीपमा सवारले २२४ रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख छ ।

गाईघाटदेखि धरानसम्मको ७२ किलोमिटर दूरी पार गर्दा यात्रुले बस, मिनिबसमा २२५ र भ्यान, जीपका लागि २८४ रुपैयाँ तिनुपर्ने दर तोकिएको छ । गाईघाटदेखि कालाबन्जारा हुँदै इटहरीसम्मको ८३ किलोमिटर यात्रामा बस, मिनिबसलाई २६० भ्यान, जीपलाई ३२७ रुपैयाँ भाडा तिनुपर्ने दर कायम गरिएको छ । गाईघाटदेखि धरान हुँदै इटहरीसम्मको ९० किलोमिटर यात्रा पार गर्ने यात्रुले बस, मिनिबसलाई २८२ र भ्यान, जीपले ३५५ रुपैयाँ भाडा तिनुपर्छ ।

सदुरमुकाम गाईघाटबाट सबैभन्दा नजिक मुर्कुच्चीसम्म १७ किलोमिटर यात्रा गर्दा बस, मिनिबसलाई ५३ रुपैयाँ र भ्यान, जीपका लागि ६७ रुपैयाँ भाडादर तोकिएको छ । गाईघाट-नेपालटारको २६ किलोमिटर यात्रामा बस, मिनिबसले ८१ र भ्यान, जीपले १०२ रुपैयाँ लिन पाउनेछन् । गाईघाटदेखि कटारीसम्म यात्रा गर्दा पार हुने ५१ किलोमिटरको यात्राका लागि बब, मिनिबसले १५९ र भ्यान, जीपका लागि २०१ भाडादर निर्धारण गरिएको छ ।

भाडादर तोकिएको यी सबै सडक पिच भइसकेको छ । सार्वजनिक सवारीसाधनमा तोकिएभन्दा बढी भाडा लिएको पाइए निकायमा तत्काल खबर गर्न यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख श्यामकुमार लिम्बूले यात्रुलाई सुझाएका छन् । चाँडबाडको मौकामा बढी भाडा असुल्न सक्ने सम्भाबित घटनाहरुको कडाईका साथ थप अनुगमन गर्ने तयारी भइरहेको कार्यालय प्रमुख लिम्बूले जानकारी दिए ।

Last updated:2023 Oct 07 Saturday 11:34:47

प्रतिक्रिया
सम्बन्धित समाचार