Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा नक्कली बुवा खडा गरी भुटानी नागरिकलाई नागरिकता, जनप्रतिनिधिनै संलग्न रहेको आशंका

  • उपहार न्यूज
  • बुधबार, असोज १७ २०८०
उदयपुरमा नक्कली बुवा खडा गरी भुटानी नागरिकलाई नागरिकता, जनप्रतिनिधिनै संलग्न रहेको आशंका

उदयपुर असोज १७ । 

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ का स्थानीय जनप्रतिनिधिकै संलग्नता रहने गरी भुटानी नागरिकलाई नेपाली नागरिकता प्रदान गरिएको तथ्य सार्वजनिक भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ का स्थानीय राजन भनिने धनबहादुर कार्कीको घरमा विगत ७/८ वर्ष देखि बसोबास गर्र्दै आएकी एक महिलालाई स्थानीय वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय उदयपुरले २०८० बैशाख ४ गते नागरिकता प्रदान गरेको हो ।

भुटानी नागरिक भनिएकी ती महिलालाई जिल्ला प्रशासन कार्यालयले माया मगर (कार्की) नामबाट १४-०१-८०-०००७१ नम्बरको नागरिकता प्रदान गरेको थियो । स्थानीयले भुटानी नागरिक भनेर जानेको र सुनिको ती महिला स्थानीय धनबहादुर कार्कीको घरमा बसोबास गर्दै आएकी थिईन् ।

भुटानी नागरिकलाई नक्कली प्रमाणको आधारमा नागरिकता प्रदान गरेको थाहा पाएपछि त्रियुगा नगरपालिका वडा नम्बर ७ का स्थानीय एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय उदयपुरमा आवश्यक छानविन गरी कारवाहीका लागि निवेदनसमेत दिएका छन् ।

ती महिलालाई नागरिक्ता दिलाउनको लागि उदयपुरगढी गाउँपालिका ७ का स्थानीय चित्रबहादुर मगरलाई नक्कली बाबु खडा गरी स्थानीय वडाबाट जन्मदर्ता बनाईएको स्रोतको दाबी छ । चित्रबहादुर मगरलाई आर्थिक प्रलोवनमा पारेर नक्कली नागरिकता दिलाउनका लागि सक्रिय गिरोहले चित्रबहादुरलाई नक्कली बुवा बनेर जन्मदर्ता बनाईदिन आग्रह गरेको बुझिएको छ ।

उदयपुरगढी गाउँपालिका ७ का तत्कालिन वडा सचिव खिलराज कार्कीले चित्रबहादुर मगरले आफ्नो छोरी दाबी गर्दै आएपछि छोरीनै होला भनेर आफुहरुले जन्मदर्ता बनाईदिएको बताए । यता त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अम्बरबहादुर दनुवार र नागरिकता सिफारिस गर्ने समयका तत्कालिन कार्यवहाक वडाअध्यक्ष प्रेम कार्कीकै संलग्नतामा भुटानी नागरिकलाई नागरिकता सिफारिस गर्न उद्दत रहेको भन्दै स्थानीयले आवश्यक कारवाहिका लागि जिल्ला प्रशासनमा उजुरी गरेका हुन् । गैरनागरिकलाई नागरिकता दिलाउनका लागि जन्मदर्ता दिलाउने देखि नागरिकता सिफारिस गर्ने सम्म जनप्रतिनिधि सहितको गिरोह सक्रिय रहेको स्थानीयको आशंका रहेको छ ।

यता जिल्ला प्रशासन कार्यालयमा स्थानियले गैरनागरिकलाई नागरिकता दिईएको बिषयमा उजुरी परेपछि आवश्यक अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । प्रशासनले भुटानी नागरिक भनिएकी ती महिलासँग रहेको नागरिकता समेत जफथ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रजिअ गौतमले जानकारी दिनुभयो । ‘हामी यस बिषयमा आवश्यक अनुसन्धान गरेर बास्तविक ठहरिए दोषी पहिचान गरी कारवाहीको दायरामा ल्याउछौ’ प्रजिअ गौतमले उपहारन्यूजसँग भन्नुभयो ।

Last updated:2023 Oct 05 Thursday 12:12:18

प्रतिक्रिया
सम्बन्धित समाचार