Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा १० का ज्येष्ठ नागरिकलाई दिवा खाजा र भजनकृतन

  • उपहार न्यूज
  • बुधबार, भाद्र १३ २०८०
त्रियुगा १० का ज्येष्ठ नागरिकलाई दिवा खाजा र भजनकृतन

शौरभ मगर –
बोक्से । उदयपुरमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दिवा खाजा तथा भजन कृतन कार्यक्रम सुरु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० का ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले दिउँसोको खाजा नास्तासहित सहज मनोरञ्जनका लागि भजनकृतनको व्यवस्था गरेको हो ।

दिउँसो १ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म हरेक दिन दिवा खाजा र भजनकृतन हुँदै आएको वडाध्यक्ष किरण पाण्डेले जानकारी दिए । उनका अनुसार हाल दैनिक ६० जना ज्येष्ठ नागरिक दिवा कार्यक्रमअन्तर्गत समेटिने गरेका छन् । ‘ज्येष्ठ नागरिक घरमै एक्लै बसीरहदा उकुसमुकुस असहज हुनसक्छ’ वडाध्यक्ष पाण्डेले भने, ‘सबैलाई एकै ठाउँमा राखेर दुःख सुख साटासाट गर्ने वातावरण बनाउने हाम्रो लक्ष्य हो ।’

नियमित पाँच दर्जन ज्येष्ठ नागरिक सहभागी हुने भएको भएपनि कहिलेकाही ७० देखि ८० जनासम्म आउने भएकाले व्यवस्थापनका लागि छिट्टै वडा कार्यालयकै जग्गामा सबै अटाउने गरी सार्वजनिक भवन बनाउने तयारी रहेको वडाध्यक्ष पाण्डेले सुनाए । हाल सो कार्यक्रम वडा कार्यालयकै सभाहलमा सञ्चालन हुँदै आएको छ ।

हाल भेला हुने बृद्धबृद्धाका लागि दैनिक खाजा र नास्ताको व्यवस्था गरिदै आएको वडा ज्येष्ठ नागरिक समूहका अध्यक्ष रामबहादुर मुक्तानले बताए । कार्यक्रममा सहभागी हुने ज्येष्ठ नागरिकहरु आफैले मादल, हार्मोनियम, तबला, बासुरी, सितारा (एकतारे) र ताली बजाउँदै नाँच्ने र आपसमा गाउँने गरी मनोरञ्जन गर्दै आएका छन् ।

अहिले दिनहुँ ३ घण्टा बृद्धबृद्धाहरु दुख पीडा भुलेर सामूहिक रुपमा झुम्न पाउदा आफू खुसी भएको ७३ वर्षीया यबकुमारी थापाले बताइन् । परिचित अपरिचित पुराना साथीहरुसँग भेटघाट हुँने व्यवस्था वडाले गरेकोप्रति आफू सकारात्मक रहेको उनको भनाई छ । अहिलेसम्म बृद्धबृद्धालाई लक्षित गरी यस्तो कार्यक्रम बिरलै हुने बताउदै स्थानीय ७० वर्षीय प्रकाशचन्द्र श्रेष्ठले भने, ‘सायद ज्येष्ठ नागरिककै लागि भनेर सुरु भएको यो कार्यक्रम देशभरिमै पहिलो पटक हुनसक्छ ।’

वडाले यही साउन १ गतेदेखि ज्येष्ठ नागरिक लक्षित दिवा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । दिनको दैनिक ३ घण्टाको समयअवधिभर स्थानीय तहमा निर्वाचित सो वडाका वडाध्यक्षदेखि सदस्यहरु पालैपालो एक एक जना बृद्धबृद्धाहरुलाई सहयोगीको रुपमा बस्दै आएका छन् । दिनैपिच्छे भेला हुने ज्येष्ठ नागरिकहरुसँग वडाध्यक्ष पाण्डेसँगै वडा सदस्यहरु तीलक अछामी, आशा राई, सन्दीप मगर र उर्मीला विकलले आलोपालो गरेर समन्वय गर्दै आएका छन् । जसका लागि बजेट र व्यवस्थापन वडा कार्यालयबाट नै हुँदै आएको छ । सो कार्यक्रमका लागि यसै आर्थिक वर्ष पाँच लाख ४० हजार बजेट समेत छुट्याइएको वडाध्यक्ष पाण्डेको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार