उपहार न्यूज
उदयपुर चैत २७
उदयपुरको ताप्ली गाउँपालिकाले शिक्षालाई विशेष प्राथमिक्तामा राख्दै आगामी पाँच बर्षको लागि शैक्षिक योजना बनाउने भएको छ । शिक्षाको गुणस्तरबृद्धि गर्नका लागि विभिन्न क्षेत्र संगको समन्वय र सहकार्य गर्दै पञ्चबर्षिय योजना निर्माण गर्न सुरु गरिएको ताप्ली गाउँपालिका उदयपुरका उपाध्यक्ष धनम मगरले बताउनु भयो ।
गाउँपालिकाले शिक्षाबिद् देवीराम आचार्य र सचितानन्द घिमिरेको सहजिकरणमा शैक्षिक गुणस्तर सुधारका लागी ताप्ली गाउँपालिकाको पञ्चबर्षिय योजना निमार्णको काम सुरु गरिएको हो ।
पञ्चबर्षिय योजना निर्माणका लागि शनिवार देखि पालिकामा स्थानिय तहका जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावक र विद्यार्थीहरु संग छलफल गरिएको छ ।
तीन दिन सम्म संचालन भएको कार्यशालामा गाउँपालिकामा हाल शिक्षाको गुणस्तरको अबस्था र आगामी दिनमा सुधार गर्दै लग्नु पर्ने बिषयमा कार्यशालामा छलफल गरिएको छ । विज्ञ टोलीले सर्बपक्षिय उपस्तिथिमा कार्यशाला गर्दै अब पञ्चबर्षिय योजना निर्माण जुटेको हो ।
कार्यशालामा गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले शिक्षाको गुणस्तर सुधारका लागी सबै क्षेत्रको भुमिका उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । शैक्षिक गुणस्तर सुधारका लागी बिद्यालयका शिक्षक, प्रधानाध्यापक, अभिभावक सबै सचेत र जागरुक बन्न सके सकारात्मक उपलब्धी देखापर्ने उहाँको भनाई थियो ।
शिक्षाका विकास भए मात्रै ग्रामीण क्षेत्रमा चेतनाको स्तरबृद्धि हुने भन्दै शिक्षाको विकासमा आफुहरुले जोड दिएको उहाँले बताउनु भयो ।
गाउँपालिकाका उपाध्यक्ष धना मगरले शहर केन्द्रित निजि बिद्यालय प्रतिको आकर्षण घटाउन गाउँमै गुणस्तरिय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाले उच्च शिक्षा अध्यान गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप एमविविएस अध्यान गर्नेलाई छात्रवृत्ति उपलब्ध गराउने योजना समेत रहेको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत भक्त चाम्लिङ राईले गलत गर्ने शिक्षकलाई राजनैतिक संरक्षण नदिने हो भने शैक्षिक गुणस्तारमा सुधार हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले शैक्षिक गुणस्तर सुधारका लागी शिक्षकलाई दण्ड र पुरस्कारको निति लागु गर्नु पर्ने, प्रबिधिमैत्री सिकाईलाई प्रबद्र्धन गर्नुपर्ने, बिद्यालयको भौतिक गुणस्तर सुधार गर्नुपर्ने, सामुदायिक बिद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नुपर्ने, सम्बन्धित निकायबाट नियमित अनुगमन, सुपरिवेक्षण गरिनुपर्नेृ, प्राबिधिक बिषयहरुको पठनपाठन सुरु गरिनुपर्ने, शिक्षकको सरुवा गर्ने नीति कार्यान्वयन गनुपर्ने, अभिभावकहरुमा शैक्षिक जागरणका कार्यक्रमहरु संचालन गरिनुपर्ने लगायतका सुझावहरु दिएका छन् । ताप्ली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पञ्चबर्षिय योजना निर्माणको लागि कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा प्रमुख सन्जु दाहालले जानकारी दिनु भयो ।