उदयपुर । हास्य बिधाका कलाकार गणेश ईशारा राईले उदयपुरमा आफ्नो एकल कमेडी शो गर्ने भएका छन् । समाजसेवी वीरमाया राई (सोभोमा)को स्मृतिमामा कलाकार राईले एकल हास्य अभिनय प्रस्तुत गर्ने भएका हुन् ।
सोभोमाको नाममा स्थापना गर्न लागिएको ‘फाउण्डेशन’का लागि राईले केही वर्षयता एकल कमेडी शो गर्दै आएका छन् । जसअनुसार यसवर्ष उनले नेपालको प्रमुख पाँच सहरमा शो गर्ने कार्यक्रम सूची रहेको छ ।
चैत १२ गतेदेखि सुरु देशव्यापी एकल कमेडी यात्रा जेठ १६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो शो भने चैत २२ गते उनले पहाडी जिल्ला ताप्लेजुङको फुङलीङ बजारमा प्रस्तुत गरीसकेका छन् । दोस्रो यात्रा उनले उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बसाहको बर्खेडाँडामा रहेको नारादमुनी खेलमैदानमा आयोजना गर्ने जानकारी दिए ।
यही शनिबार अर्थात चैत २५ गते बसाहमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक बसाह क्लव, उदयपुरले जनाएको छ । उदयपुरलगतै वैशाख १६ गते काठमाडौंस्थित नाँचघरमा शो हुनेछ । वैशाख २८ गते पूर्व झापाको दमक बजारमा कार्यक्रम रहनेछ भने जेठ १६ गते पोखरामा यो वर्षको अन्तिम एकल कमेडी शो प्रस्तुत हुनेछ ।
बिभिन्न ठाउँमा शोमार्फत संकलित रकम अनाथ तथा साहराबिहीन बृद्धबृद्धा व्यवस्थापन र बृद्धाश्रमलगायतलाई सहयोगका लागि खर्च गरिने बताइएको छ ।