उदयपुर । थारु समुदायको छाता जातीय संस्था ‘थारु कल्याणकारिणी सभा उदयपुर’को जिल्ला अधिवेशन हुने भएको छ । आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न जिल्लाको चैदण्डीगढी नगरपालिका वडा नम्बर ५ सिवाईमा नवौँ जिल्ला अधिवेशन हुने भएको हो ।
सदरमुकाम गाईघाटस्थित स्थानीय फुडल्याण्डको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकबाट प्राप्त जानकारी अनुसार यही चैत २४ देखि २५ गतेसम्म दुई दिन अधिवेशन चल्नेछ । अधिवेशनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रमुख अतिथीको आषणबाट कार्यक्रम उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।
अधिवेशनमा थारु समुदायमा रहदै आएको कुरिती, सामाजिक, सांस्कृतिक, आर्थिक, भाषिक तथा समसामयिक राजनीतिक अवस्थाबारे समेत छलफल हुने पत्रकार सम्मेलनमा बाँडीएको प्रेस विज्ञप्तीमा उल्लेख छ । सो क्रममा जातिय हक अधिकार स्थापित गर्न चलेको थरुहट आन्दोलनको क्रममा बिभिन्न समय ज्या गुमाउनेहरुको परिवार तथा घाइतेहरुलाई सम्मान तथा प्रसंसापत्र समेत प्रदान गरिने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा जातीय भेषभुषासहित झाँकीहरु समेत प्रदर्शन गरिनेछ । त्यस्तै जातीय सांस्कृतिक प्रतियोगिताहरुमा उत्कृष्टहरुलाई पुरस्कृतसमेत गरिने आयोजकले जानकारी गराएको थियो । थारु कल्याणकारिणी सभा उदयपुरमा भने विक्रम सम्बत् २००५ सालमा स्थापना भएको थियो ।