उदयपुर । पूर्व सञ्चारकर्मी एवं निवर्तमान गृहमन्त्री रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उदयपुरका लागि जिल्ला संयोजक चयन गरेको छ । पछिल्लो निर्णय अनुसार चित्रकुमार कार्कीलाई पार्टीले जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
त्यस्तै अनिलकुमार श्रेष्ठले जिल्ला सहसंयोजकको जिम्मेवारी पाएका छन् । उनी पार्टीको मनोनित कोशी प्रदेशसभा सदस्य समेत हुन् । संयोजक कार्की भने पार्टीको आन्तरिक निर्वाचनबाट प्रत्यक्ष चुनिएका प्रदेश सदस्य हुन् । कार्की कोशी प्रदेशसभा सदस्यका लागि आवश्यक ४ पदका लागि सहभागी २६ मध्ये चुनावी प्रक्रियामार्फत आफूलाई सुरक्षित राख्दै जिल्ला नेतृत्वसम्म पुगेका हुन् ।
स्रोतका अनुसार फागुन– २६ गते जिल्लामा बसेको बैठकले कार्कीलाई संयोजकको भूमिका दिने निर्णय भएको थियो । पछिल्लो समय देशभर चर्चाको शिखर चुम्दै गरेको पार्टीका लागि जिल्ला नेतृत्व पाउँदा आफूलाई थप जिम्मेवार महसुस गरेको उनले प्रतिक्रिया दिएका छन् । ‘अब पार्टीको निर्देशित शिद्धान्तलाई शिरोपर गर्दै स्थानीय तहसम्म संगठन बिस्तारको अभियानमा जोड दिनेछु ।’ संयोजक कार्कीले भने, ‘जनसमस्या ओकल्न सक्ने जनताको प्रतिनिधिमूलक पार्टीको रुपमा उदयपुरमा रास्वपालाई स्थापित गराउनु छ ।’
कार्कीले सन् २०११ मा उल्टो मोटरसाईकल चलाएर मेची–महाकाली यात्रासमेत पूरा गरी विश्व उल्टो मोटरसाईकल यात्रीको रुपमा आफ्नो पहिचान बनाइसकेका छन् । त्यस्तै बिभिन्न बिधामा गिनिज बुक वल्र्ड रेकर्डमा समेत आफ्नो नाम दर्ज गरिसकेका छन् । उनी पछिल्लो समय क्षमता भएर पनि ओझेलमा परेका जनशक्तिलाई एक फाउण्डेशनमार्फत सहयोग समेत गर्दै आएका छन् ।