उदयपुर । नेपालमा प्रतिबन्धित लागूऔषधसहित उदयपुरमा दुई जना पुरुष पक्राउ परेका छन् । जिल्लाको पहाडी क्षेत्रस्थित ताप्ली गाउँपालिका वडा नम्बर– १ देबरेबाट प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा ताप्ली गाउँपालिका वडा नम्बर– १ का स्थानीय ७४ वर्षीय ईन्द्रबहादुर शाही र ५८ वर्षीय शेरबहादुर सेना रहेको रहेका छन् । गत शनिवार अबैध गाँजाको कारोवार भईरहेको भन्ने गोप्य सूत्रबाट सूचना चुहिएपछि इलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटाँरबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।
टोलीले आरोपितहरुको घरबाटै गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुईमध्ये शाहीको घरबाट १४ किलोग्राम र र सेनाको घरमा लुकाई छुपाई रोखेको अवस्थामा थप २४ किलो गाँजा बरामद गरिएको उदयपुर प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका दुवै जनालाई कानुनी कारवाहीका लागि थप अनुसन्धान थालिएको बताइएको छ । उनीहरुलाई जिल्ला अदालत उदयपुरबाट ९ दिनको म्याद समेत थप भईसकेको प्रहरीले जानकारी दिएको छ । दुवै जनाको घरबाट प्रहरीले कुल ३८ किलो गाँजा बरामद गरेको हो ।
सो क्षेत्रमा प्रहरी र स्थानीय प्रसासनको समन्वयमा हरेक वर्ष गाँजा नष्ट गरिदै आएको छ । यद्यपी कतिपयले जंगल झाडीभित्र लुकाएर खेती गर्ने गरेको देखिएको छ । अन्नबाली मिहेनत गरेअनुसार नफल्ने सो क्षेत्रको जग्गामा सुहाउदो खेतीको बिकल्प तयार नहुँदा गाँजा खेती न्यूनीकरण पार्ने अभियान असफल हुँदै आएको छ । अधिकांस किसान सोही खेतीमा आश्रीत रहेको समेत स्रोतको भनाई छ ।