उदयपुर । उदयपुरमा ‘प्रथम उदयपुर म्यूजिक अवार्ड–२०७९’ सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गाईघाट बजारबाट प्रशारण हुने उपहार एफएम ९५.४ मेगाहर्ज स्थापनाको पाँचौ वार्षिकोत्सवको अवसरमा बिभिन्न बिधाका १८ अवार्ड बितरण गर्दै कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा बरिष्ठ संगीतकार सीलाबहादुर मोक्तान र गायीका कुन्ती मोक्तानलाई ५० हजार नगदसहित उपहार एफएम लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्ने शिलाबहादुरले कालजयी थुप्रै नेपाली गीतहरुमा संगीत भरेका छन् भने गायीका कुन्तीले दर्जनौ एल्बमहरु बजारमा लाइएकी छन् । जुन दोस्रो पुस्तासम्म पनि चर्चित छन् ।

सामाजिक संस्था दाजुभाई समूह दोहा कतारले शीर्ष प्रायोजन गरेको सो कार्यक्रममा लोकगायक बिनोद दनुवारले उत्कृष्ट लोकगायकको रुपमा अवार्ड प्राप्त गरे । रियालीटि शो लोकस्टारका उपाधि बिजेतासमेत रहेका बिनोदले ‘गाईघाट बजार’ बोलको गीतमार्फत नोमिनेशनमा पर्दै अवार्ड हात पारेका हुन् । त्यस्तै उत्कृष्ट लोकपप गायकको रुपमा सन्दीप मोतेले अवार्ड प्राप्त गरेका थिए ।
त्यस्तै उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको रुपमा कलाकार प्रदिपकुमार चौधरीले अवार्ड प्राप्त गरेका छन् । नेपाली रंगमञ्चबाट उदाएका उनले थुप्रै नाटकहरु निर्देशन र मञ्चन गरेका छन् भने नेपाली कथानक चलचित्र होस्टल रिर्टनलगायतको फिल्ममा मुख्य खलपात्रको भूमिकामा देखिएका छन् । उनलाई अवार्ड भने असोक शिवाको स्वरमा रहेको गीत ए कान्छीको म्यूजिक भिडियो निर्देशनले दिलाएको हो ।

गायक शिव थापामगरलाई ‘बेस्ट कल्चरल सिङ्गर’ अवार्ड प्रदान गरिएको छ । मगर सदुदायमा अत्यन्तै लोकप्रिय कमाएको हुर्रा गीत देशैं रमाईलोका लागि उनले सो बिधाको उत्कृष्ट उपाधि हासील गरेका हुन् । उदयपुर कटारी स्थायी घर भएका गायक थापामगरले ‘उदयपुरगढी घुमेर हेर्दा’, ‘आजै हो तिमीलाई देखेको’, ‘सुन ओई’ लगायतको गीतहरु चर्चित छन् ।
त्यस्तै उत्कृष्ट ‘रक पप’ गायन बिधामा अशोक शिवालाई अवार्ड प्राप्त भएको छ । लामो समयदेखि नेपाली पप गीत क्षेत्रमा संघर्षरत गायक शिवाले सन् २०१६ मा आफ्नै शब्द र संगतिमा सार्वजनिक गरेको गीत ‘लक्ष’ले उनलाई टाईटल जिताएको हो । गायक शिवाको स्वरबद्ध गीत ‘कान्छी’ पछिल्लो समय चर्चामा रहेको छ ।

उत्कृष्ट मेलोडी पप बिधामा गायिका अप्सरा घिमिरेले अवार्ड प्राप्त गरिन् । झण्डै दशक अघिदेखि नेपाली गीत संगीत क्षेत्रमा समय खर्चदै आएकी गायीका घिमिरे विश्वप्रशिद्ध चर्चित फ्रेन्चाईस् रियालीटि शो द भ्वाईस अफ नेपालको प्रथम संस्करणबाट चिनिएकी हुन् । दर्जनौ गीतमा स्वर दिइसकेकी उनको सन् २०२२ सेप्टेम्बर ९ मा सार्वजनिक गीत ‘गाजल टिकी’ले उनलाई अवार्डसम्म पु¥याएको हो ।
यसैगरी ‘उत्कृष्ट प्लेब्याक गायन’ अर्थात बेस्ट प्लेब्याक सिङ्गर बिधाको उपाधि भने गायक टम्पशेर राईले पाएका छन् । रेडियो कार्यक्रम सञ्चालक हुँदै सांगीतिक क्षेत्रमा पाईला सारेका गायक टम्पशेरलाई ‘म तिमिलाई माया गर्छु’ बोलको गीतले अवार्ड दिलाएको हो । शब्द, संगीत र गायनसमेत आफैले गर्ने त्रीपक्षीय खुबी भएका उनले ‘सकिन बन्न ब्रृटिसको लाहुरे’, ‘काठैमा काटी दरबार’, ‘लालीगुँरास’, ‘तिमीलाई एउटा कुरा’, माया जालैमालगायतका गीतहरु हिट छन् । उनलाई अवार्ड दिलाउने गीत ‘म तिमीलाई माया गर्छु’ भने चार वर्षअघि सार्वजनिक भएको हो । जुन युट्युब ट्रेन्डीङ हुँदै करोड क्लवको नजिक छ ।

यता उदयीमान गायक बिधाको उपाधि भने गोबिन्द गुरागाईलाई प्राप्त भएको छ । उनले ‘समर्पित’ बोलको गीतबाट अवार्ड पाएका हुन् । त्यस्तै उत्कृष्ट मोडलको उपाधि भने रियार्ज आचार्यले पाएका छन् । उनले मुसु मुसु गीतको अभिनयमार्फत बेस्ट मोडलको उपाधि पाउने रियार्ज केही महिना अघिमात्र नेपाली फिल्मी क्षेत्रमा समेत डेब्यू गरेका छन् ।
बितरण समारोहमा नारायण दनुवारलाई बेस्ट सिङ्गर जुरी अवार्ड प्रदान गरियो । उनले ‘माया जालैमा’ बोलको गीतबाट अवार्ड पाएका हुन् । उत्कृष्ट आधुनिक गायन बिधामा शसीचन्द्र राईलाई अवार्ड बितरण गरिएको थियो । उनलाई ‘समुन्द्रको छाल’ बोलको गीतले अवार्ड दिलाएको हो । यता ‘सुन्दर उदयपुर’ बोलको गीतबाट सइन्ध्वज दनुवारलाई पनि उत्कृष्ट शब्द संकलक बिधाको अवार्ड प्रदान गरिएको आयोजक उपहार मिडिया ग्रुपमा अध्यक्ष विश्वराज तामाङले जानकारी दिए ।
त्यस्तै ‘बेस्ट मोर्डन पप सिङ्गर’ बिधामा सुनिता कार्कीको गीतलाई अवार्ड प्रदान गरिएको थियो । ‘ए मेरो प्यारो परदेशी’ बोलको गीतमाफर्त उनी बिधा उपाधिकर्ता बनेकी हुन् । ‘बेस्ट मेलोडी पप सिङ्गर’को अवार्ड भने फिरोज बस्नेतले तिमी बाहेक बोलको गीतमार्फत प्राप्त गरेका छन् । ‘बेस्ट प्लेब्याक सिङ्गरअन्तर्गत महिलातर्फ भने पूजा मगरले अवार्ड प्राप्त गरीन् भने बेस्ट फिमेल मोडलको अवार्ड रेखा राईलाई प्रदान गरिएको थियो ।

रेडियोको पाँचो वार्षिकोत्सवको सन्दर्भमा आयाजित अवार्ड बितरण समारोहमा पाँच जना सम्मानित समेत भएका थिए । जसअन्तर्गत उपहार कला सम्मान मनोहरी थापा, शैलेन्द्र खतिवडा, मिथुन ठाकुर, चन्द्र तामाङ र दिनेश लामालाई प्रदान गरिएको थियो । त्यस्तै आदिम कला सम्मान भने नाट्यकार गोपाल कृतीलाई प्रदान गरिएको थियो ।
गाईघाट सिमलबोटस्थित रत्ना रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई, सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, एलाईन्स ह्युमन रिसर्च प्रा.लिका सञ्चालक महेस बस्नेत, प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस नेपाल प्रा.लिका प्रमुख घनश्याम तामाङ तथा त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीलगायतले अवार्ड हस्तान्तरण गरेका थिए ।
लाईफ एचिभमेन्ट अवार्डबाट सम्मानित भएसँगै गायीका मोक्तानले आफ्ना केही लोकप्रिय गीतहरु दर्शकमाझ गाएर मनोरञ्जन समेत दिलाएकी थिइन् । कार्यक्रमका लागि त्रियुगा एक्सप्रेस, पूर्णपुष्टि डटकम, प्रदेशखबर डटकम र समृद्ध नेपाल डटकमलगायत मिडिया पार्टनरका रुपमा सहभागी थिए । अवार्ड बितरणसँगै अग्रज कलाकारलाई सम्मान र नयाँलाई हौसला मिलेको अध्यक्ष तामाङको भनाई छ ।

हेर्नुहोस् भिडियो-
https://www.youtube.com/watch?v=FBa1VzCQv6g