उपाहार न्यूज
उदयपुर कात्तिक १४
कात्तिक ५ गते पिपल चोक गाईघाटमा साझ झमक्क पर्दै छ, स्टेजबाट उद्घोषक टम्पसेर राई निरन्तर उद्घोष गरिरहेका छन् । वरपरका मान्छेहरु भेला हुन सुरु गरेका छन्, ठूलो स्टेज अनि साउण्ड सिस्टम संगै साझ गुन्जदैछ । लामो समय सम्म गाईघाट पिपल चोकले सांगीतिक प्रस्तुत पाउन सकेको थिएन त्यसैले सबैको ध्यान सांगीतिक र सास्कृतिक प्रस्तुती तिर खिच्दै छ ।
दाजु भाई समुह दोहा कतारले आयोजना गरेको थियो सांगीतिक र सास्कृतिक साझ संगै विपन्न परिवारलाई आर्थिक सहयोगको कार्यक्रम पनि थपिएको थियो । उद्घोषकले यस कार्यक्रम मनोरञ्जनको लागि मात्रै नभएर एक सामाजिक अभियान बोकेको कार्यक्रम रहेको बताई रहेका थिए । साझ ५ बजे देखि सुरु भएको कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती सुरु भएको थियो । कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बस्नत बस्नेत, उप प्रमुख महेश्वरी राई, वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुख, पत्रकार, समाजसेवी, उद्योगी व्यवसायीहरुको समेत आगमन भए पछि कार्यक्रम अघि बढ्दै गएको थियो ।
कार्यक्रम दाजु भाई समुह दोहा कतारको आयोजना तथा त्रियुगा उद्योग वाणिज्य संघको समन्वयमा आयोजना गरिएको थियो । कार्यक्रममा दाजु भाई समुह दोहा कतारले त्रियुगा नगरपालिका वडा नम्बर १६ का एक एक जनाको दरले वडाको सिफारिसमा १६ परिवारलाई नगद पाँच हजार, लत्ता कपडा सहित सम्मान गरेको थियो । केउरेनी आधारभुत विद्यालयलाई नगद ५० हजार र त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा आगलागी पिडित पृति बहादुर कार्कीलाई ४० हजार तथा नगर प्रहरीलाई तीन लाख बराबरको मोटरसाईकल सहयोग प्रदान गरेको थियो ।

उसो त दाजु भाई समुहले तिहार सांस्कृतिक साझ २०७९ को आयोजना संगै समाजमा विपन्न र विपदमा परेकालाई सहयोग गर्नु पर्छ भन्ने मान्यता राखेर यस किसिमको कार्यक्रमको आयोजना गरेको दाजु भाई समुहका संयोजक संदिप भट्टराईले बताउनु भयो ।
दाजु भाई समुहले कोभिड महामारीमा पनि त्रियुगा नगरपालिकाको विभिन्न स्थानमा पुगेर करिब २० लाखको हारकारीमा खाद्यन्न सामाग्री सहयोग गरेको स्मरण गर्नु हुन्छ त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, दाजु भाई समुहको यो कार्यले पक्कै पनि समाजमा अन्य व्यक्तिलाई पनि सामाजिक काम गर्ने उर्जा मिलेको विश्वकर्मा बताउनु हुन्छ ।

प्रवासमा बसेर दुख गरेर कमाएको रकमले यसरी आफ्नै ठाउँका नागरिकको दुःखमा मलम लगाउने कामले सराहनीय भएकाले अरुले पनि सिक्नु पर्ने त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई बताउनु हुन्छ । दाजु भाई समुह हाल स्थापना भए पनि विगत १० बर्ष देखि प्रवासमा रहेर काम गरिरहेका नेपालीहरुलाई जुटाएर विभिन्न सामाजिक गतिविधि गरिरहेका संदिप भट्टराई नेतृत्वले समाजमा राम्रो काम गरेको पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङको भनाई छ ।
कार्यक्रममा दाजु भाई समुहका संयोजक संदिप भट्टराई, कृष्ण अधिकारी, महेन्द्र पाण्डे, हितेस गुरुङ, बिष्णु घिमिरेलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा कोभिड महामारीको समयमा गाउँ गाउँमा पुगेर राहात वितरणमा संक्रिय रहेका सरोज श्रेष्ठ, राजकुमार घिमिरे, भुवन विक, पर्शुराम श्रेष्ठ, सुदिप श्रेष्ठ, सुजन राई, सनम राई, रेखा राई र चित्र कार्कीलाई पनि नागरिकहरुको तर्फबाट अभिनन्दन तथा सम्मान गरिएको थियो ।









