सौरभ मगर
उदयपुर असोज ९
नमुना विद्यालयको रुपमा स्थापित हुदै गरेको गाईघाट स्थित त्रियुगा मावि गाईघाटमा शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी बनाउनका लागि विभिन्न रचनात्मक गतिविधिहरु संचालन हुन थालेको छ । विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावक विचमा अन्तरसंवादका लागि शुक्रबार विद्यालयमा कक्षा ११ र १२ को विज्ञान तथा सिभिल ईन्जिनियरिङ तर्फ अध्यानरत विद्यार्थी विच सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमको क्रममा विद्यार्थीहरुले विद्यालयमा छात्राहरुलाई सेनिटेरी प्याडको व्यवस्थापन कम्जोर भएको, प्राथमिक उपचार सामाग्रीको अभाव, कक्षा कोठा सरसफाई, शौचालय व्यवस्थापन, खानेपानी लगायतको सुधार गर्नु पर्ने औल्याएका थिए ।
सो क्रममा सहभागी जनप्रतिनिधि त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइरालाले विद्यालयमा आवश्यक्ताको आधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डेले छात्रालाई यथासिघ्र सेनिटरी प्याडको व्यवस्था मिलाउने, सरसफाई गरिने वताउनु भयो । अध्यक्ष पाण्डेले विद्यालय हाता भित्रका संचरनाको संरक्षण गर्नु विद्यार्थीको समेत दायित्व रहेको बताउनु भयो ।
विद्यार्थीहरु आफै सजग भएर कक्षा कोठा व्यवस्थापनमा ख्याल राख्नु पर्ने विद्यालयका प्रध्यानध्यापक सुबास बिष्टले बताउनु भयो । कार्यक्रममा बिषयगत शिक्षक र विद्यार्थी एक आपसमा सम्झादरी गरी शिक्षण सिकाई उत्साहपूर्वक तरिकाले अघि बढाउनु पर्ने प्रअ बिष्टको भनाई थियो । उहाँले विद्यार्थी र शिक्षक विचमा यसरी सार्वजनिक रुपमा हुने अन्तरसंवाद त्रियुगा माविले पहिलो पटक आयोजना गरेको बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य जीवन पाण्डे, विद्यालयका साहयक प्रअ अर्जुन खत्री, विदुर खड्का, भोला केसी, नागेश्वर साह, बिषयगत शिक्षक तथा विद्यार्थीको सहभागीता रहेको थियो ।