विश्वराज तामाङ
उदयपुर विहानको करिब साडे १० बज्नै लागेको छ, कक्षा ११ र १२ का विद्यार्थीहरु विहानी शत्रको कक्षा सकेर घर फर्कने तयारी गर्दै छन्, एकैछिनमा साना साना केटाकेटि लिएर विद्यालयमा बस आईपुग्छ बस बाट तीन/चार बर्ष देखि १५/१६ का केटाकेटिको विद्यालयमा प्रवेश हुन्छ ।
खाली भएको बसमा भर्खर कक्षा ११ र १२ को अध्यान सकेर घर फर्कन लागेका विद्यार्थीहरु बस चढ्न थाल्छन् बस जान्छ फेरी अर्को बसले त्यस्तै साना र ठूला उमेर समुहका विद्यार्थीलाई लिएर विद्यालय आईपुग्छ । विद्यार्थीहरु चट्ट परेको पोसाकमा टाई लगाएर स्कुल व्याग बोकेर विद्यालय आईपुगे पछि प्रार्थनाको घण्टि बज्छ त्यस पछि सबै लामबद्ध भए पछि शिक्षकले पिटि खेलाउछन् केहि समय, राष्ट्रिय गान बज्छ त्यो सकिए पछि सुरु हुन्छ यो नेपाली शिर उचाली संसारमा लम्कन्छ……… गीतमा सामुहिक नृत्य ।
यो क्रम सकिए पछि सबै विद्यार्थीहरु आआफ्नो कक्षा कोठामा प्रवेश गर्छन अनि सुरु हुन्छ विद्यालयको नियमित अध्यापन । तपाईलाई लाग्न सक्ला यो दृश्य सायद कुनै सुविधा सम्पन्न निजि विद्यालयको होला हुन पनि सामुदायीक विद्यालयहरुमा यस किसिमको दृश्य विरलै देख्न पाईन्छ । तर यस्तै दृश्य उदयपुरको वेलका नगरपालिका ४ गुरुङचौरी स्थित जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा भने नियमीत देख्न पाईन्छ ।
विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व आए संगै विद्यालयको शैक्षिक गतिविधिहरु पछिल्लो समय दिनदिनै सुधार हुदै गएको अभिभावक विद्यार्थीहरु बताउछन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानिय समाजसेवी तथा राजनितिकर्मी मनोज तामाङले नेतृत्व सम्हाले संगै विद्यालय सुधारको योजना सुरु भएको हो ।

विद्यालयमा प्रार्थनामा सहभागी वालवालिकाहरु
विद्यालयलाई शैक्षिक गुणस्तर सुधार गर्नका लागि भौतिक संरचनादेखि शिक्षक व्यवस्थापन र विद्यालय बस संचालन लगायतका बिषय समेटिएर करिब ३८ करोडको पञ्चबर्षिय गुरु योजना निर्माण गरे संगै विद्यालयले स्वरुप परिवर्तन हुदै आएको हो ।
एक बर्ष अघि सम्म करिब तीन सय विद्यार्थी रहेकोमा हाल विद्यालयमा करिब ११ सय हारहारीमा विद्यार्थीहरु नियमित अध्ययान गरिरहेका छन् । विद्यालयले विभिन्न क्षेत्रबाट विद्यालय आउनका लागि सहज वातावरण सृजना गर्नका लागि आर्थिक बर्ष २०७७/०७८ मा करिब २३ लाख ८० हजार बराबरको र आर्थिक बर्ष २०७८/०७९ मा ३७ लाख ५० हजार मुल्य बराबरको दुई स्कुल बस खरिद गरेको छ । विभिन्न व्यक्तिहरु संग विद्यायले ऋण लिएर विद्यार्थीहरुको सहजताको लागि स्कुल बस संचालनमा ल्याए संगै विद्यालयमा विद्यार्थीको संख्या दिनदिनै बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले जानकारी दिनु भयो ।

विद्यालयको बसबाट विद्यालय परिसरमा आईपुगेका बालबालिकाहरु
विद्यालयमा हाल वाल शिक्षा देखि कक्षा १२ सम्म संचालनमा रहेको छ, अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराईदै आएको विद्यालयमा हाल कक्षा ९ देखि १२ सम्म सिभिल ईन्जियरिङ पढाई भैरहेको विद्यालयका प्रअ सम्मर राईले जानकारी दिनु भयो ।

बालबालिकाहरुलाई दिवा खाजा बाढ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङ

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा गरी तीन संकायमा पढाई हुने गरेको छ, अभिभावक भेलाबाट निर्णय गरेर न्यूनतम शुल्कमा निजि विद्यालयमा सरह गुरुङचौरी माध्यमिक विद्यालयमा शिक्षा दिन थालिए पछि यतिवेला वेलकाको वडा नम्बर ४ संगै छिमेकी वडाहरु ३, ५, ६, ८ र ९ बाट समेत विद्यार्थीहरु आउन थालेका छन् । सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढे संगै विद्यालयलाई थप व्यवस्थित गरिदै लगिने योजना विद्यालयको छ । विद्यालयले बनाएको गुरु योजना अनुसार सरकारले समेत नमुना विद्यालयको रुपमा प्राथमिक्तामा राख्दै भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको सहयोगमा विद्यालयले चालु आर्थिक बर्षमानै करिब एक करोड ४५ लाख बराबरको भवन निर्माणको लागि प्रक्रिया समेत अघि बढाएको अध्यक्ष तामाङले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङ

विद्यालयका प्रअ सम्मर राई
विद्यालय हाता भित्र सुविधा सम्पन्न विद्यालय तथा प्रशासनिक भवन निर्माण संगै विभिन्न खेलकुद गतिविधि संचालनका लागि अभ्यास स्थान, पुस्ताकलय, छात्राबस लगायत व्यवस्थापन गरिने तयारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा हाल कमप्युटर ल्याब, विज्ञान प्रयोगशाला संचालनमा छन् विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षण सिकाईको लागि सरकारी कोटा र निजि सहित हाल ५५ जना शिक्षकले नियमीत विद्यायमा अध्यापन गराईरहेको प्रअ सम्मर राई बताउनु हुन्छ । सरकारले सामुदायीक विद्यालयमा ठूलो मात्रमा शिक्षामा लगानी गर्दै आएको छ तर कतिपय स्थानमा त्यसलाई व्यवस्थित गर्न नसक्दा सामुदायीक विद्यालय प्रति उत्पन्न हुने निराशालाई आशामा परिणत गर्न जनता नमुना मावि गुरुङचौरी जस्ता विद्यालयले उदाहरण बन्न सक्छ ।