उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारस्थित मुख्य चोकमा साउन १ गतेदेखि भौतिक संरचना निर्माणको काम थालिने भएको छ । अबको दुई महिनापछि काम थाल्ने गरी योजना अगाडि बढाइएको त्रियुगा नगरपालिकाको गतिबिधिहरुबारे जानकारी दिन बनाइएको फेसबुक अकाउन्ट ‘त्रिनपा गतिबिधि’ मार्फत जानकारी गराइएको छ । चोकमा बनाइने संरचनाको पूर्वचीत्र (स्केच) सार्वजनिक गर्दै सर्वसाधरणको राय माग गरिएको तस्वीरमा कालो र सेतो पाटे दुई वटा गाईले पानी खाँदै गरेको दृष्य राखिएको छ । भुँई सतह गोलो, कालो रङमा देखाइएको स्तम्भ माझ चारपाटेमाथि अडाइएको मैदानमा गाईले खाँदै गरेको पानी दुई अग्ला पहाडहरुको बीचदेखि बगेर झरेजस्तो देखाइएको छ ।
त्रियुगा नगरपालिकाले सञ्चालन गर्दै आएको योजनाहरु सार्वजनिक गर्दै आएको ‘त्रिनपा गतिबिधि’मा राखिएको तस्वीरमा आफ्नो सुझाव राख्न आग्रह गरिएको छ । सोही सुझाव अनुसार नगरबासीहरुले आआफ्नो प्रतिक्रिया राखेका छन् । जसमा सबैभन्दा बढी गाईको संख्या, रङ्ग र आकृतिमा गुनासो आएको छ । फेसबुकमार्फत टिप्पणी गर्नेहरुले गाई दुईवटाको सट्टा एउटा गाई राखेर बच्छोलाई दूध चुसाइरहेको राख्न आग्रह गरेका छन् । त्यस्तै आकृति पनि जर्सी गाईको जस्तो भएकाले लोकल गाईजस्तो बनाउनुपर्ने उनीहरुको प्रतिक्रिया देखिएको छ ।