उपाहार न्यूज
उदयपुर जेठ १९
कोरोना संक्रमणबाट उदयपुरमा पछिल्लो समय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतमाई गाउँपालिका ७ का ५१ बर्षिय पुरुष र लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ५५ बर्षिय पुरुष रहेका छन् । यस संगै उदयपुरमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । रौतामाईका संक्रमितको नोवेल हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो । यता लिम्चुङबुङमा पालिकाको आइसोलेशनमा उपचाररतसंक्रमित पुरुषको आज एक्कासी मृत्यु भएको हो । पालिकका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार मृत्यु हुने संक्रमित वडा नं. २ ताम्लिछाका ५५ वर्षिय पुरुष हुन् । गत ११ गते परिक्षण गर्दा उनी पोजेटिभ देखिएका थिए । होम आइसोलेशनमा बस्दै गरेका उनलाई स्वास्थ्य समस्या देखिएपछि पालिकाको आइसोलेशनमा तीनदिन अघि ल्याइएको थियो । विहानसम्म सामान्य अवस्थामै बोलचाल गरिरहेका उनको एक्कासी मृत्यु भएको जनाइएको छ ।
शब ब्यवस्थापनमा नेपाली सेना पुग्न लामो समय लाग्ने भएपछि पालिकाकै पहलमा ब्यवस्थापन गरिने भएको छ । पालिकाका स्वास्थ्यकर्मीटोलीले पिपिइ सेट लगाई शब लैजाने र आफन्तको जिम्मामा दाहसंस्कार गरिने भएको छ । आफन्तलाई पनि स्वास्थ्य सुरक्षाका लागि पिपिइ सेट पालिकाले उपलब्ध गराएको छ ।
यता उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लामा १८ पुरुष २० महिला गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु त्रियुगा, ताप्ली उदयपुरगढी र बेलकाको रहेको छ ।
त्रियुगामा १९ जना, ताप्लीमा ६ जना, उदयपुरगढीमा ७ जना, बेलकामा ५ जना र रौतामाईमा १ जना पछिल्लो समय संक्रमित थप भएको हो । यो सहित जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ ।