देबराज राई
-उदयपुर ।
गणीतीय हिसावमै २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष– २०२०’ सफल बनाउन उदयपुरको चौदण्डीगढी नगरपालिकामा साईकल यात्रा हुने भएको छ । करिब १ सय २० जना सहभागी रहने साईकल यात्रा ‘राईड टु चौदण्डीगढी’सहित बिभिन्न कार्यक्रम गर्दै चौनपाले पर्यटनवर्षको बिधिवत शुभारम्भ गर्ने भएको हो ।
आईतबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै चौनपाका मेयर खगेन्द्र राईले सरकारद्धारा प्रेषित लक्ष्य पूरा गर्न स्थानीय तहदेखि सक्रियता थालिएको बताए । ऐतिहासिक तथा पूरातात्विक महत्वको चौदण्डीगढी दरबार भग्नावशेष स्थललाई नै केन्द्रबिन्दू बनाएर सांस्कृतिक कार्यक्रम तथा स्थानीय जातिय आकर्षणसहित शुभारम्भ कार्यक्रम तय भएको आयोजकले जनाएको छ । मेयर राईले नगर क्षेत्रभित्र रहेका सम्भाबित ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटन बढाउँदै आर्थिक समृद्धिको सपना पूरा गर्नुपर्ने बताए ।
मेयर राईले नेपालको आर्थिक उन्नति र प्रगतिमा भ्रमण वर्षले उकास्ने बताए । ‘२० को अन्त्यसम्म २० लाख र २५ को अन्त्यसम्ममा २५ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । त्यसैगरी ‘राजस्वमा ७० अर्ब रुपैयाँको योगदानलाई दोब्बर बनाउने र १० लाख रोजगारी सिर्जना गर्ने पनि सरकारको योजना यसअघि सार्वजनिक भइसकेको छ ।
राईले पत्रकार सम्मेलनको क्रममा बोल्दै पर्यटन वर्षअवधिभर खपत हुने वस्तु गाउँ (चौदण्डीगढी)मै उत्पादन गरेर अर्थतन्त्रलाई स्वावलम्बन बनाउने नपाको योजना रहेको जानकारी दिए । ‘भ्रमण वर्षको कार्यक्रममा मिनरल वाटरको सट्टा स्थानीय खोलाको पानी गाग्रोमा भरेर ल्याएको ल्होटाबाट पिउँने व्यवस्था हुनेछ’ मेयर राईले भने, ‘स्थानीय स्तरमा उत्पादिन बस्तुको बजारीकरणमा ध्यान दिँदै उत्पादनमा प्रोत्साहन गरी आर्थिक उन्नतीका लागि आधारशिला खडा गर्नु हाम्रो लक्ष्य हो ।’
१ म्याराथुन धावकसहित १२० साईकलयात्री सहभागी हुने
करिब ३ सय वर्ष पूरानो एतिहासिक चौदण्डीगढी दरबारको पर्यटकीय क्षेत्र पहिचान र गरिमा बढाउने मुख्य उद्देश्यसहित आयोजना हुने ‘राईड टु चौदण्डीगढी’ मा एक जना म्याराथुन धावकसहित बिभिन्न जिल्लाका १ सय २० साईकलयात्री सहभागी रहने छन् । साईकल यात्राको क्रममा कीर्तिमानधारी धावक महेन्द्र बज्रचार्यले सहभागिता जनाउने भएका हुन् । बज्रचार्यले साईकलकै गतिमा यात्रा दौडीएर पूरा गर्नेछन् । उनी अन्नपूण र एभ्रेष्ट म्याराथुनका बिजेता हुन् ।
यात्रामा रहने साईक्लीस्ट र रिपोर्टिङमा खटिने पत्रकारका लागिसमेत पर्यटनवर्षको लोगो तथा चौदण्डीगढीको बिभिन्न पर्यटकीय महत्व झल्कीने तस्वीरसहितको टिसर्ट तयार पारिएको छ । यात्रामा प्रयोग हुने टिसर्ट मेयर राई र उपमेयर रिता चौधरीले पत्रकार सम्मेलनमै सार्वजनिक गरेका थिए । ६० किलोमिटर दूरी रहने साईकल यात्राको क्रममा नगरभित्र रहेका एतिहासिक, धार्मिक, पूरातात्विक महत्वले भरिपूर्ण पर्यटकीय स्थलहरु पार गरिने उदयपुर साईक्लीङ संघका अध्यक्ष जितेन्द्र रोइलाले जानकारी दिए ।
यात्रा पुस १६ गते बिहान ७ः०० बजे बेल्टारस्थित पिपी चौकदेखि शुरु हुनेछ । सोही दिन बेलुका ५ः०० बजे राईड टु चौदण्डीको औपचारिक समापनसँगै स्थानीय कलाकारहरुबाट बिभिन्न जातजातिको झाँकीससहित सांस्कृतिक कार्यक्रम रहने बताइएको छ ।
साग बिजेता जिल्लाबासी खेलाडीलाई सम्मान गरिने
चौदण्डीगढी दरबार भग्नावशेष परिसरमा आयोजना हुने कार्यक्रममा केही खेलाडीहरुसमेत सम्मानित हुने भएका छन् । स्थानीय नगर सरकारले आयोजना गर्ने पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा खेलकुदमार्फत नगरको पहिचान उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गर्न लागिएको हो । सम्मानका लागि छनोट भएका खेलाडीहरु भर्खरै नेपालमा सम्पन्न १३ औँ ‘साग’ प्रतियोगितामा स्वर्ण, कास्य र रजत पदक विजेताहरु हुन् ।
आयोजकका अनुसार ‘साग’मा महिला तर्फको हेण्डबल रजत बिजेता चौनपा ७ की बविता श्रेष्ठ, रन्जना राई र बन्दना राई, वडा नं. ६ की निशा राई र कविता राईलाई सम्मानीत हुनेहरुको सूचीमा राखिएको छ । भारतोलनमा नेपाललाई कास्य पदक दिलाउने चौनपा ४ की संगीता राई र महिला फुटबलतर्फ रजत विजेता बेलका नगरपालिका ४ की दिपा राईलाई पनि सम्मान गर्ने कार्यक्रम तयार भएको छ । त्यस्तै भारतोलनको स्वर्ण विजेता कटारी नगरपालिकाकी अनुपमा मगर र बेलका नपाकी संगिता मगरलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।
खेलाडीको प्रोत्साहनस्वरुप नपाले गर्ने सम्मानमा क्रममा स्वर्ण, रजत र कास्य पदक विजेतालाइ क्रमशः ४० हजार, ३० हजार र २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ । जिल्लामा लामो समयदेखि योगदान पु¥याउने हेण्डबल उदयपुरका प्रशिक्षक पर्वत गुरुङ, सहायक प्रशिक्षक पार्वती थापा र बिन्दाकुमारी थापालाईसमेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।
शुभारम्भमा सार्वजनिक बिदा
नगरपालिका पुस १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्यटनवर्ष शुभारम्भ उद्घाटन कार्यक्रममा बिभिन्न सरकारी कार्यालयका कर्मचारी, विद्यार्थी तथा आम सर्वसाधारणका लागि सहभागिता सहज गराउन नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । नपा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने भएकाले उद्घाटन कार्यक्रममा व्यापक जनसहभागिता जुटाउदै पर्यटनवर्ष भब्य बनाउन नपाले नगरबासीलाई आग्रह गरेको नगर प्रबक्ता रामकुमार खड्काको भनाई छ ।