उदयपुर । विराटनगरस्थित न्यूरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.ले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा उदयपुरमा विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरी मनाएको छ। हस्पिटलले वार्षिकोत्सवको अवसर पारेर त्रियुगा नगरपालिका–१३ स्थित जनप्रेमी आधारभूत विद्यालयमा वृहत् कार्यक्रम आयोजना गरेको हो ।
हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलोपटक विराटनगरबाहिर वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको जनाएको छ। स्वास्थ्य सेवा प्रदान गर्नुका साथै समुदायप्रतिको आफ्नो सामाजिक दायित्वलाई समेत प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले उदयपुरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका क्रममा त्रियुगा नगरपालिका क्षेत्रभित्र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ९४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो। ग्रामीण तथा स्थानीय समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने, स्वास्थ्य संस्थासम्म नागरिकको पहुँच पु¥याउने तथा विभिन्न स्वास्थ्य कार्यक्रमलाई समुदायस्तरसम्म पु¥याउन योगदान गरेको भन्दै स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो ।
त्यसैगरी, स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एम्बुलेन्स चालकहरूलाई समेत सम्मान गरिएको थियो। आकस्मिक अवस्थामा बिरामीलाई समयमै अस्पतालसम्म पु¥याउनेदेखि स्वास्थ्य सेवाको पहुँच विस्तारमा चालकहरूले पु¥याउँदै आएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ । हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार बिष्टको अध्यक्षता तथा त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा हस्पिटलका निर्देशक डा. अनिशा बिष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत, त्रियुगा नगरपालिका–१३ का वडाध्यक्ष नवीन चौधरी, जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट सन्तोष राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष विश्वराज तामाङलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले स्वास्थ्य संस्थाले आफ्नो नियमित स्वास्थ्य सेवासँगै सामाजिक क्षेत्रमा समेत जिम्मेवारी निर्वाह गर्नु सकारात्मक पक्ष भएको बताएका थिए। विशेषगरी स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, विद्यार्थी तथा विद्यालयको पूर्वाधारलाई समेटेर गरिएको सहयोगले स्थानीय समुदायमा प्रत्यक्ष प्रभाव पार्ने धारणा व्यक्त गरिएको थियो।
२६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममार्फत न्यूरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटलले स्वास्थ्य सेवा विस्तारसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति र जिम्मेवारीलाई समेत अघि बढाउने सन्देश दिएको छ ।
२५१ विद्यार्थीलाई विद्यालय झोला
वार्षिकोत्सवको अवसरमा हस्पिटलले जनप्रेमी आधारभूत विद्यालयमा अध्ययनरत २५१ जना बालबालिकालाई विद्यालय झोला वितरण गरेको छ। आर्थिक तथा सामाजिक रूपमा विभिन्न कठिनाइमा रहेका विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोग पुगोस् भन्ने उद्देश्यले झोला वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी गरिएको सहयोगले विद्यार्थीको नियमित अध्ययनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यलाई हस्पिटलको सामाजिक उत्तरदायित्वसँग जोडिएको बताइएको छ ।

२ लाख ३१ हजारको साइकल स्ट्यान्ड हस्तान्तरण
हस्पिटलले वार्षिकोत्सवकै अवसरमा जनप्रेमी आधारभूत विद्यालयमा निर्माण गरेको साइकल स्ट्यान्डसमेत विद्यालयलाई हस्तान्तरण गरेको छ। करिब २ लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको साइकल स्ट्यान्ड कार्यक्रमका बीच विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूले प्रयोग गर्ने साइकललाई व्यवस्थित रूपमा राख्न सहज होस् भन्ने उद्देश्यले साइकल स्ट्यान्ड निर्माण गरिएको हो। विद्यालयको भौतिक पूर्वाधारमा सहयोग पु¥याउने उद्देश्यले हस्पिटलले उक्त संरचना निर्माण गरेको जनाएको छ।
बहेर्वा विद्यालयलाई शौचालय निर्माणका लागि २ लाख ५१ हजार
यसैगरी, त्रियुगा नगरपालिका–१३ स्थित श्री जनता आधारभूत विद्यालय बहेर्वाको शौचालय पुनर्निर्माणका लागि हस्पिटलले २ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
विद्यालयमा आवश्यक रहेको शौचालय पुनर्निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराइएको हो। विद्यार्थीको स्वास्थ्य तथा सरसफाइसँग प्रत्यक्ष जोडिएको शौचालयजस्तो आधारभूत पूर्वाधार निर्माणमा सहयोग गर्दै हस्पिटलले शिक्षा क्षेत्रको विकासमा समेत आफ्नो सामाजिक भूमिका विस्तार गरेको छ ।
विद्यालयका विद्यार्थीको स्वास्थ्य, सरसफाइ र सुरक्षित शैक्षिक वातावरण निर्माणमा यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले सेवा लिए
वार्षिकोत्सवकै अवसरमा जनप्रेमी आधारभूत विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। शिविरमा स्थानीय क्षेत्रका दुई सयभन्दा बढी नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका थिए।
विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले स्थानीय नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेको थियो। विराटनगरमा केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले उदयपुरमै पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीय नागरिकले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिन सहज अवसर पाएका थिए।
स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाएपछि शिविरमा सहभागी नागरिकहरूले हस्पिटलको सामाजिक पहलप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकता
हस्पिटलका अनुसार वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने उद्देश्यले उदयपुरमा कार्यक्रम आयोजना गरिएको हो। स्वास्थ्य संस्था समुदायसँग प्रत्यक्ष जोडिने संस्था भएकाले स्वास्थ्य सेवासँगै शिक्षा, स्वास्थ्य सचेतना र सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउनुपर्ने मान्यताअनुसार कार्यक्रम गरिएको हस्पिटलको भनाइ छ ।
विराटनगरबाहिर पहिलोपटक वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै उदयपुरलाई रोज्नुले समेत हस्पिटलले आफ्नो सेवा र सामाजिक गतिविधिको दायरा विस्तार गर्न खोजेको देखिन्छ । स्वास्थ्य शिविर, महिला स्वास्थ्य स्वयंसेविका तथा एम्बुलेन्स चालकको सम्मान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र विद्यालयको पूर्वाधार निर्माणमा सहयोगमार्फत हस्पिटलले समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रयास गरेको छ ।
यसै विच जनप्रेमी आधारभुत विद्यालय त्रियुगा नगरपालिका १३ ले विद्यालयमा स्वास्थ्य शिविर, बालबालिकालाई विद्यालय व्याग र साईकल स्टण्ड लगायतको सहयोग पु¥याएको प्रति अस्पताल व्यवस्थापन र कार्यक्रम गर्न सहजीकरण गर्ने नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष विश्वराज तामाङलाई समेत धन्यवाद ज्ञापनपत्र प्रदान गरेको थियो ।