उदयपुर, बैसाख २९ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाले त्रियुगा नगरपालिका लाई स्थानीय सूचना तथा सञ्चार नीति निर्माण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । महासंघ अध्यक्ष भक्तिबिलास पोखरेल को नेतृत्वमा गएको पत्रकारहरुको टोलीले सोमबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु स्याम राई, ईश्वर तामाङ, महेश्वर चाम्लिङ लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा महासंघ उपाध्यक्ष बिश्वराज तामाङ ले प्रस्तावित सूचना तथा सञ्चार नीतिको विषयवस्तुबारे जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई तथा प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला ले नगरपालिकाले आवश्यक छलफलपछि नीति पारित गर्ने र स्रोत–साधनको अवस्था हेरेर स्थानीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी सूचना तथा विज्ञापन उपलब्ध गराउने विषयमा सकारात्मक रहेको बताएका छन् । छलफलका क्रममा नगर प्रमुख बस्नेतले स्थानीय सञ्चार माध्यमहरुले नगरपालिकाबाट भएका सकारात्मक गतिविधिहरु जनतामाझ पुर्याउन सहयोग गर्नुपर्ने बताउनु भयो । उपप्रमुख राईले नगरपालिकामा भएका कमी–कमजोरीप्रति खबरदारी गर्नु पनि स्थानीय सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सकारात्मक खबरदारीको अपेक्षा गरिएको बताउनु भयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कोइरालाले कुनै पनि समाचार सम्प्रेषण गर्दा एकपक्षीय नभई सम्बन्धित पक्षसँग बुझेर तथ्यमा आधारित समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्नु भयो । महासंघ अध्यक्ष पोखरेलले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर स्थानीय सञ्चार नीति निर्माण गर्दै स्थानीय सञ्चार माध्यम र पत्रकारहरुको वृत्ति विकासका लागि काम सुरु गरिएको जानकारी दिए ।