किरण प्रसाद ढुंगाना
गाईघाट, चैत्र ७ । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री एवम् नेता कृष्ण प्रसाद सिटौलाले संघीयता र संविधान कार्यन्वयनको समीक्षा गर्न काङ्ग्रेस तयार रहेको बताएका छन्। उदयपुरमा आयोजित एक कार्यक्रममा काङ्ग्रेस कार्यकर्ताहरूसँग कुरा गर्दै नेता सिटौलाले लोकतान्त्रिक गणतन्त्रको संविधान सबै मिलेर बनाएको हो भन्नेमा जोड दिएका छन्। उनले भने, “संविधान के कति कार्यन्वयन भयो? सघियताका मूल सिद्धान्तहरूलाई अझ बलियो पार्न हामी समीक्षा गर्न तयार छौं।”
नेता सिटौलाले संघीयता कार्यन्वयनमा भएका त्रुटिहरू सच्याउनु पर्ने र राम्रा पक्षलाई सशक्त बनाउनु पर्ने आवश्यकता पनि औंल्याए। संविधानमा रहेका मुलभूत व्यवस्थाहरू जस्तै समानुपातिक समावेशीकरण, जनताको सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि नेपाली काङ्ग्रेस सधैं अग्रसर रहेको भन्दै उनले राजा महेन्द्रको २०१८ सालको कुप्रवृत्तिलाई समेत स्मरण गराए। उनले भने, “राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेताहरुलाई थुनामा राखेर लोकतन्त्र मासेका थिए । बिपी कोइरालाको क्याबिनेटले सर्भे गरेको राजमार्गलाई महेन्द्रले आफ्नो नाममा राखेर अघि बढाएर आफुले जस लिएको समेत बताए।
नेपाली काङ्ग्रेस उदयपुरको व्यवस्थापन र काङ्ग्रेस कोशी प्रदेश समितिको आयोजनामा सञ्चालित उक्त अगुवा कार्यकर्ता प्रशिक्षणमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मीन बिश्वकर्मा, पुस्पा भुषाल र प्रदेश प्रशिक्षण विभागका सचिव बिरेन्द्र साहले प्रशिक्षण दिएका थिए। प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिती, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला, क्षेत्र र प्रदेश पदाधिकारीहरू लगायत उदयपुरका अगुवा कार्यकर्ताहरू सहभागी भएका थिए।
नेपाली काङ्ग्रेस उदयपुर जिल्ला सभापति एवम् प्रदेश सभा सदस्य हिमाल कार्कीले आगामी दिनमा काङ्ग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रम नगरपालिका, वडा र टोलसम्म पुर्याउने योजना रहेको जानकारी दिएका थिए।